
गोरखा जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ ।
गोरखा नगरपालिका–४ फिनाम आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो ।
स्थानीयले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा बिहीवार ल्याइएको कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।
‘वयस्क पोथी चितुवा कसरी मर्यो भन्ने यकिन नै त भइसकेको छैन, घटनाको प्रकृति हेर्दा २ वटा चितुवा जुधेर एउटा मरेको हुन सक्ने देखिएको छ,’ उनले भने । मृत चितवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ थियो
मृत चितुवाको अवस्था हेर्दा २ दिनअघि मरेको हुनसक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । पछिल्लो समय जिल्लाभित्र चितुवा मृतावस्थामा भेटिने क्रम बढेको छ ।
गत भदौमा पनि आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।