०८ साउन २०८३, शुक्रबार

कोरोनाको जोखिमभत्ता नपाएपछि ७ चिकित्सकले राजीनामा दिएर छाडे जागिर

कात्तिक २७, २०७७
कोरोनाको जोखिमभत्ता नपाएपछि ७ चिकित्सकले राजीनामा दिएर छाडे जागिर

बुटवलस्थित कोभिड–१९ (कोरोना विशेष) अस्पतालमा कार्यरत ७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

महामारीमा जोखिम मोलेर काम गरेका चिकित्सकले जोखिम भत्ता नपाएको भन्दै बुधवारदेखि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सकको राजीनामापछि सेवा प्रवाहमा समस्या भएको छ । 

चिकित्सकले कोरोना महामारी चर्किएको वैशाखदेखि भत्ता पाएका छैनन् । कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले कोरोना अस्पतालका कार्यरत सबै स्वास्थ्यकर्मीलाई महामारी शुरू भएयता जम्मा ३८ दिनको मात्र जोखिम भत्ता अस्पतालले उपलब्ध गराएको जानकारी गराए ।  

अस्थायी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा सञ्चालित छ । राजीनामा दिनेमा ७ जना मेडिकल अफिसर छन् । अस्पतालमा ९ जना मेडिकल अफिसर करारमा कार्यरत भए पनि २ जनाले यसअघि नै अस्पतालप्रति असन्तुष्टि जनाउँदै काम छाडिसकेका थिए ।

राजीनामा दिएका एक डाक्टरले लामो समयसम्म सरकारले दिने भनिएको जोखिमभत्ता नदिएपछि बाध्य भएर राजीनामा दिनुपरेको बताए । राजीनामा दिनेमा ३ जना महिला र ४ जना पुरुष मेडिकल अफिसर रहेका छन् । 

प्रदेश सरकारले समयमा बजेट नपठाएका कारण जोखिमभत्ता दिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनको भनाइ छ । दशैंअघि पनि ३ महिनासम्म मासिक पारिश्रमिक र जोखिमभत्ता नपाएपछि ९ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए ।

सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको छ । तर बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले जोखिम भत्ता पाएका छैनन् । कोरोना विशेष अस्पतालमा ५ वटा भेन्टिलेटर, १६ वटा मोनिटर, १६ वटा आईसीयू र ३६ वटा आइसोलेसन शय्या छन् । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले चिकित्सकले काम छोडेको पुष्टि गर्दै अस्पतालको सेवा प्रभावित हुन नदिनका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएका छन् । ‘चिकित्सकहरूले राजीनामा दिनुभएको छ,’ उनले भने, ‘मन्त्रालयले उहाँहरूलाई जोखिमभत्ता दिने पत्र दिइसकेको हुँदा काममा फर्किनुहुन्छ होला ।’

salt training

कमेन्ट गर्नुहोस्