दमौली, ३० वैशाख– तनहुँको रिसिङ र बेलभन्ज्याङमा गएराति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।
रिसिङ –६ चालिसेमा अपरिचित समूहले बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ। आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नम्बरको बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो ।
त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केका प्रहरीले जनाएको छ ।
शनिबार बिहान ५:१५ बजेतिर सो समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई उनीहरुले भाटालेसमेत हानेका थिए ।