०१ साउन २०८३, शुक्रबार

बालिकामाथि भर्चुअल यौन हिंसा गर्ने पक्राउ

कात्तिक २८, २०७७
बालिकामाथि भर्चुअल यौन हिंसा गर्ने पक्राउ

प्रहरीको साइबर ब्युरोले नक्कली फेसबुक आईडी बनाएर भर्चुअल यौन हिंसा गर्ने एक जनालाई पक्राउ गरेको छ । १३ वर्षीया दुई बालिकालाई यौनसम्बन्धी, अश्लील सन्देश तथा तस्बिर पठाउने र बालयौन अश्लीलतायुक्त सामग्रीहरू पोस्ट गरेको आरोपमा बिहीबार २० वर्षीय अखिल नेपाली पक्राउ परेका हुन् ।

ब्युरोको डिजिटल इन्टेलिजेन्समार्फत अखिलको नक्कली फेसबुक आईडीको गतिविधिहरू नियालेको र उनीबाट पीडित बालिकाहरू फेला परेलगत्तै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।

ब्युरोका अनुसार उनले एक वर्षभन्दा लामो समयदेखि दुवै बालिकालाई भर्चुअल यौन हिंसा गरिरहेका थिए । स्रोतले भन्यो, ‘अश्लील भिडियो, फोटो पठाउने र भेट्नका निम्ति बारम्बार अनुरोध गरेको देखियो ।’ उनले यौन तुष्टिका निम्ति मात्र त्यस्तो गरेका थिए वा बालिकाहरूलाई करकापमा पारेर यौनजन्य गतिविधिहरूमा संग्लन गराएर त्यसको फोटो र भिडियो खिचेर बेच्ने योजना बनाएका थिए भन्नेबारे भने ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार अखिलले बालिकाहरूलाई सुरुमा फेसबुकबाटै चिनजान गरेका थिए । पछि भने उनले नक्कली फेसबुक आईडी बनाएर निरन्तर बालिकाहरूलाई भर्चुअल यौन शोषण गर्ने प्रयास गरेका थिए । प्रहरी स्रोतले भन्यो, ‘अखिलले निरन्तर बाल अश्लील सामग्री पठाउने र धम्क्याउने गरेको देखिन्छ ।’

बालिकाहरूले यसबारे अभिभावकलाई भनेपछि थप अनुसन्धान गर्न प्रहरीलाई सजिलो भएको थियो । उनको सम्बन्ध अन्तर्राष्ट्रिय बालयौन दुराचारीको समूहसँग पनि छ कि भनेर ब्युरोले अनुसन्धान थालेको छ । बालयौन दुराचारीहरूले आम मानिसको पहुँच नहुने डार्क च्याट रुममार्फत आफ्नो सञ्जाल विस्तार गर्ने र त्यहीमार्फत बालबालिकाको अश्लील तस्बिर र भिडियोहरू सेयर गरेर यौन तुष्टिसमेत लिने गरेको देखिन्छ ।

यस्तो गोप्य नेटवर्क सम्बद्ध अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरूले बेलाबेला नेपाली बालिबालिकाका यौन गतिविधि समेटिएका श्रव्य दृश्य सामग्रीहरू किन्नेसमेत गरेको देखिन्छ । ब्युरोका एसएसपी नविन्द अर्यालले भने, ‘बालयौन दुराचारीहरूलाई फोटो, भिडियो बेच्न वा उनीहरूसमक्ष बालबालिकाको पहुँच पुर्‍याउन त यस्तो काम भइरहेको छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।’
 

टिनएजका किशोरीहरूलाई टार्गेट गरी बाल अश्लीलतायुक्त सामग्रीहरू पठाउने र ‘भर्चुअल यौन हिंसा’ गर्ने घटनाहरू पछिल्ला दिनमा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । गत असोज २९ मा पनि साइबर ब्युरोले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ का २१ वर्षीय नितेश भनिने प्रवीण ढकाललाई पक्राउ गरेको थियो । प्रवीणले फेसबुकको मेसेन्जरबाट बाल अश्लीलता फैलाउने श्रव्य दृश्य सामग्रीहरू साथीभाइ र १८ वर्षमुनिका बालबालिकालाई पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म मात्रै प्रहरीको साइबर ब्युरोमा ९ बालक र ३७ बालिका जोडिएका साइबर अपराधका निवेदनहरू आएका छन् । यस्ता अधिकांश निवेदनमा बालबालिकाहरू भर्चुअल यौन हिंसाको सिकार बनेको वा त्यस्ता अपरिचित समूहको फन्दामा पर्न खोजेको घटनाहरू उल्लेख्य छन् । ब्युरोका एसएसपी अर्यालले भने, ‘कम्तीमा पनि बालबालिकाहरूले सामाजिक सञ्जालमा के गरिरहेका छन् भनेर अभिभावक र बालबालिकाबीच संवाद हुन जरुरी देखिन्छ । यस्तो संवादले आफ्ना छोराछोरीलाई खुलेर कुरा गर्न सघाउँछ र भर्चुअल यौन हिंसाबाट बचाउन मद्दत गर्छ ।’ कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्