०६ असार २०८३, शनिबार
विकासको कछुवा गति

आठ वर्षमा पनि पूरा भएन बुटवल–बेलहिया ‘सिक्स लेन’, निर्माण नसकिँदै मर्मतमा साढे ३ करोड खर्च !

कात्तिक २८, २०७७
आठ वर्षमा पनि पूरा भएन बुटवल–बेलहिया ‘सिक्स लेन’, निर्माण नसकिँदै मर्मतमा साढे ३ करोड खर्च !

काठमाडौं उपत्यकाबाहिरको पहिलो बुटवल–बेलहिया (सुनौली) ‘सिक्स लेन सडक’ व्यापारिक मार्ग निर्माण शुरू भएको आठ वर्ष हुँदा समेत पूरा हुन सकेको छैन । 

तीन वर्षभित्र सक्ने गरी काम थालिएको २७ किलोमिटरको यो सडक कहिले निर्माण सकिने हो अहिलेसम्म टुंगो छैन । 

यो सडकले भारतसँगको दोस्रो ठूलो नाका सुनौलीबाट पूर्व–पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ । तीन वर्षमा सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/२०६९ बाट निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्पूर्ण आयोजना आठ वर्षसम्म पनि पूरा हुन नसकेको हो । सडकको अझै ८ प्रतिशत काम बाँकी छ । समयमै काम पूरा नहुँदा निर्माण सकिएको क्षेत्रमा पनि सडकको सौन्दर्य बिग्रिँदै गएको छ । 

प्रदेशकै आर्थिक ढोकाको रूपमा हेरिएको महत्त्वपूर्ण आयोजना पूरा नहुँदा निजी क्षेत्र रुष्ट छ । बुटवल–बेलहिया आयोजना प्रमुख जयलाल मरासिनीले ९२ प्रतिशत काम भएको जानकारी दिए । मरासिनीले आयोजना चालू आर्थिक वर्षभित्रै सडक निर्माण कार्य सकिने दाबी गरे । 

करीब ५ अर्ब ९२ करोड लागतमा निर्माणाधीन बेलहिया–बुटवल सडकखण्डको हालसम्म करीब २५ किमी सडक निर्माण कार्य पूरा भएको छ । ३.७५ किमी सडक निर्माणाधीन अवस्थामा छ । बुटवलको राजमार्ग चौराहादेखि, भैरहवासम्म सम्पन्न भएको छ भने बुटवल बजार क्षेत्र (चौराहा गोलपार्क) सम्मको सडक विस्तारको काम अगाडि बढ्न सकेको छैन । बेलहिया नाकादेखि बाइपाससम्म करीब ७५० मिटर सडकखण्ड पनि अलपत्र छ ।

मरासिनीले लोकान्तरसँग भने, ‘बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकोले हामीले फैसला वा आदेश कुरेका छौं । अन्य क्षेत्रको बाँकी काम तिहार छठपछि तीब्रताका साथ अगाडि बढ्छ ।’ 

मर्मतमै सकियो साढे तीन करोड 

सडक निर्माण पूरा नहुँदै मर्मतका लागि ३ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । बनिसकेको सडक क्षेत्रका ठाउँ–ठाउँमा सडक बिग्रिँदा तीन वर्षमा ३ करोड ३० लाख  खर्च भएको आयोजनाका इञ्जिनीयर शुभेच्छा सारुले जानकारी दिइन् । 

‘अहिले पनि मर्मतको काम भइरहेको छ । ओभरलोड र जमिनको वाटर लेबले गर्दा सडक बिग्रिएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । यसको विस्तृत अध्ययनका लागि विभागलाई पत्राचार गरिएको छ,’ सारुले लोकान्तरसँग भनिन् । 

बेलहियादेखि भैरहवासम्म धेरै ठाउँमा सडक बिग्रिएको छ । भारतबाट सडकको क्षमताभन्दा बढी भारका गाडी भित्रिँदा सडक कतै भासिने कतै उबडखाबड भएको छ । काम गर्न बाँकी क्षेत्रमा निर्माण कम्पनीलाई तिहारपछाडि तीव्र रूपमा काम अगाडि बढाउने निर्देशन दिएको मरासिनीले बताए । 

२७ किमी सडक ११ भागमा ठेक्का 

सडक निर्माण शुरू हुँदा यो सडक ३ वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तर, पछाडि यसलाई बढाउँदै लगेर ११ भागमा ठेक्का लगाइयो । यी विभिन्न समयमा लगाइएका ठेक्का हुन् । 

भैरहवा दरखसवादेखि बुद्धचोकसम्म २.६ किमी, बेलहिया बाइपासदेखि डण्डा पुल सम्म ७ सय ५० मिटर,  तिलोत्तमा जानकीनगरदेखि बुटवल चौराहासम्म ३ किमी, डण्डा पुलदेखि दरखसवा र बुद्धचोकदेखि अञ्चलपुरसम्म २.१ किमि, मणीग्रामदेखि जानकीनगरसम्म ३ किमी, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.५ किलोमिटरमा भाग लगाइयो । 

मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेड (टीसीआईएल) ले एक अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेपनि सामान्य मर्मतका बाँकी रहेको आयोजनाकी इञ्जिनीयर शुभेच्छा सारुले बताइन् ।

‘हामीले काममा ढिलाई गर्ने ठेकेदारहरूसँग पटकपटक ताकेता गर्दै आएका छौं, अबको ६ महिनामा देखिने गरी काम हुन्छ, यदि काम सकिएन भने टेण्डर तोडेर अर्कोबाट काम गराउनेछौँ,’ मरासिनीले भने ।

 

सडकमा गुणस्तरमाथि प्रश्न 

बुटवल–बेलहिया सडक निर्माणको गुणस्तरमाथि पटकपटक प्रश्न चिह्न उठ्दै आएको छ । निर्माण सम्पन्न नहुँदै भैरहवाको आँखा अस्पताल अगाडि सडक भत्किएपछि हालै मात्र भत्किएको स्थानमा पुनः पिच गरिएको छ । 

त्यसैगरी सडकको सर्भिस लेन सडक पनि गुणस्तरीय नभएको गुनासो छ । तर आयोजना भने सर्वसाधारणको लापरवाहीका कारण सर्भिस लेन सडक कमजोर बनेको दाबी गर्दछ । 

‘सर्भिस लेन सडकको डिजाइननै फरक हो । त्यसको पिच पनि फरक हो तर सर्वसाधारणहरूले त्यही सडकमा ठूल्ठूला गाडी पार्किङ गरिदिने, डिजेल– पेट्रोलका गाडीहरू राखिदिने, सिमेन्ट–छड बोकेका गाडीहरू हिँडाइदिने आदि कारण सर्भिसलेन सडक भत्किएको हो,’ आयोजनाको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्