
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवादमा विदेशी शक्तिको हात नभएको प्रष्ट पारेका छन् ।
शुक्रवार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई ब्रिफिङ गर्दै प्रवक्ता श्रेष्ठले नेकपालाई विदेशी शक्तिले उचालेको आरोप झुट भएको दाबी गरे ।
'हाम्रो पार्टीभित्र देखिएको अन्तरविरोध आन्तरिक विषय हो,' प्रवक्ता श्रेष्ठले भने, 'यहाँ कुनै विदेशी शक्तिको हात छैन । कसैले इच्छा राख्दैमा पार्टीभित्र विवाद हुँदैन । कसैले इच्छा र चाहना राखिहालेमा त्यो उनीहरूको कुरा हो, हाम्रो पार्टीले त्यसलाई मान्दैन ।'
आज बसेको नेकपा सचिवालय बैठक मङ्सिर ३ गते पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठक एकमात्र कार्यसूची तय गर्दै सकिएको हो ।
बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीमा देखिएको विवाद समाधान गर्ने गरी एउटा मुख्य कार्यसूची तयार भएको जानकारी दिए ।
शुक्रवारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्षलाई दिएको पत्रको जवाफमा प्रचण्डले अर्को पत्र पेश गरेका थिए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन आग्रह गर्दै लिखित निवेदन दिएको ६ दिनपछि सचिवालय बैठक बसेको थियो ।
मन्त्रिपरिषद् विस्तार, राजदूतको सिफारिश लगायतका घटनापछि नेकपा भित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । शुक्रवारको बैठक दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बोलाएका हुन् ।
औपचारिक बैठक नबोलाए आफूले कार्यकारी अधिकार प्रयोग गरेर बैठक बोलाउने चेतावनी प्रचण्डले दिएका थिए ।
त्यसरी बैठक बोलाए पार्टी विभाजनको विन्दु शुरू हुने भन्दै ओलीले चेतावनी दिएका थिए ।