
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपबारे आफूले लिखित रूपमै सचिवालयमा जवाफ पेश गर्ने बताएका छन् ।
उनले यसका लागि केही समय लाग्ने भन्दै सचिवालय बैठक १० दिनका लागि स्थगित गर्न आग्रह गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको तथ्य युक्त जवाफ दिने बताएका हुन् ।
‘कार्यकारी अध्यक्षको प्रतिवेदन लाञ्छनायुक्त गम्भीर आरोपले भरिएको छ, यसको प्रतिवाद नगरी बस्न सक्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘म तथ्ययुक्त जवाफ दिन्छु, त्यसका लागि केही समय लाग्छ, त्यसपछि बैठक बसौंला ।’
अध्यक्ष ओलीले नयाँ राजनीतिक प्रस्ताव पार्टीमा ल्याउने र दुवै प्रस्तावमाथि छलफल गर्नेगरी सचिवालयको बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।