२० असार २०८३, शनिबार

मंसिर ७ गतेदेखि विद्यालयमै पठनपाठन गर्ने निर्णय

मंसिर ७ गतेदेखि विद्यालयमै पठनपाठन गर्ने निर्णय

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू जनस्वास्थ्य मापदण्ड पालन गर्दै मंसिर ७ गतेदेखि खुल्ने भएका छन् ।

कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगर स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरिएको छ ।

मापदण्डअनुसार विद्यालयले कक्षा कोठाभित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा २ जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले १ कक्षाभन्दा तल ‘प्ले ग्रूप’, नर्सरी, एलकेजी, यूकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा घरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रूपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ । ४०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रूपमा कम्तिमा १ जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्