२५ जेठ २०८३, सोमबार

राजधानीमा अत्याधुनिक सार्वजनिक शौचालय, सिक्का राखेपछि मात्रै खुल्ने !

मंसिर ५, २०७७
राजधानीमा अत्याधुनिक सार्वजनिक शौचालय, सिक्का राखेपछि मात्रै खुल्ने !
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

ललितपुर महानगरपालिका मङ्गलबजारस्थित नमुना सार्वजनिक शौचालय प्रयोग गर्न पहिलो पटक पुगेकी स्यारोन ब्लोनलाई शौचालय बाहिर रहेको काउन्टरबाट कर्मचारीले एउटा क्वाइन दिएर शौचालयभित्र पठाए ।

अन्य स्थानमा शौचालय प्रयोग गरेपछि ५/१० रुपियाँ तिरे हुन्थ्यो । त्यहाँ शौचालय प्रवेशकै लागि काउन्टरबाट क्वाइन दिँंदा अचम्म मान्दै उन अलमल गर्दै भित्र पुगिन् । क्वाइन हाल्ने ठाउँ खोज्दै खसालिन्। मेसिनले भित्र जान हरियो रङको एरोको सङ्केत देखाउँदा स्टिलको बार धकेल्दै भित्र गएर शौचालय प्रयोग गरेपछि पुनः बाहिर आउन खोज्दा स्टिलको बार चलेन ।

साथीले बाहिरको काउन्टरको कर्मचारीलाई बोलाएर साथी बाहिर आउन नसकेको जानकारी दिएपछि त्यहाँका कर्मचारीले बाहिर निस्कन भित्तामा राखिएको हातको चित्रमुनिको डिजिटल बोर्डमा हात देखाउनुहोस्, भनेपछि बल्ल स्यारोन ब्लोन शौचालय बाहिर निस्कन सफल भइन् ।

त्यसपछि उनको प्रतिक्रिया थियो, “नेपालमा पनि यस्तो शौचालय बन्न थालेछन् अब । मैले विदेशको शौचालय प्रयोग गर्न नजानेर जे पायो त्यही बटम थिच्दा पानीले निथ्रुक्क भिज्नुपर्छ रे भन्ने त सुनेको थिएँ । आज यहाँको शौचालय प्रयोग गर्दा नि म झण्डै भित्रै परेंँ ।

उनले शौचालयको भित्तामा रहेका प्याड भेन्डिङ मेसिन, सेन्सरजडित बत्ती, पानीको पर्याप्त सुविधा, चिसो हात सुकाउने ड्रायर लगायतको सुविधा सहितको सार्वजनिक शौचालय देखेर खुसी व्यक्त गर्दै यस्तो शौचालय सहरका केही स्थानमा मात्र भए पनि पानी नखाई बजार निस्कनुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो भनिन्।

ललितपुरको मङ्गलबजारस्थित उक्त शौचालय २५ वर्ष पुरानो हो । विगतमा अव्यवस्थित शौचालयले नयाँ रङ रूप मात्र फेरेको छैन, शौचालय प्रयोगका लागि पुग्ने सेवाग्राही नै छक्क पर्ने गरी सुविधा समेत थपिएका छन् ।

सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित, अव्यवस्थित हुन्छन् भन्ने विचारलाई नै परिवर्तन गर्ने गरी त्यस शौचालयलाई गैरसरकारी संस्था गुथिले एरोसान संस्थाको सहयोगमा आधुनिक सेवा सुविधासहित चिटिक्क बनाएको हो ।

बिहीबार विश्व शौचालय दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त नमुना सार्वजनिक शौचालयको उद्घाटन गरे।

कार्यक्रममा प्रमुख महर्जनले उद्घाटन गर्नुभन्दा केहीछिन अघिसम्म पनि सार्वजनिक शौचालय यतिसम्म सुविधा सम्पन्न हुन्छ भनेर मलाई नै विश्वास भएको थिएन भन्दै गुथिसँग सहकार्य गरेर महानगरपालिकाभरकै शौचालयको अवस्था सुधार्न आतुर रहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायणराज अवालेले स्थानीयले विकासलाई दिगो बनाउन सहयोग गरे यस्ता योजना पनि सफल बनाउन सकिन्छ भन्ने उदाहरण सो नमुना शौचालयमा देखिएको अनुभव सुनाृए ।

उक्त सार्वजनिक शौचालयमा आठ÷आठ घण्टाको फरकमा कर्मचारीले निश्चित पोसाकसहित काम गर्दछन् । साथै जम्मा भएको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि बायोग्यास प्लान्ट जडान गरी ग्यास निकालिएको छ ।

महिला तथा किशोरीले त्यहीँबाट सेनेटरी प्याड किन्ने सुविधासमेत छ । गत वर्ष सार्वजनिक शौचालयको अवस्थाका बारेमा गरिएको सर्वेक्षणमा काठमाडौँ महानगरपालिकामा १५१, ललितपुर महानगरपालिका ५४, मध्यपुर थिमि नगरपालिका १७ र कीर्तिपुर नगरपालिका १८ वटा गरी २४२ वटा शौचालय भए पनि सुविधाविहीन रहेको उल्लेख थियो । गोरखापत्र दैनिकमा शिवा तामाङले खबर लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्