२८ जेठ २०८३, बिहीबार

महासंघका ७४ पदमा १२७ जनाबीच प्रतिस्पर्धा

मंसिर ५, २०७७
महासंघका ७४ पदमा १२७ जनाबीच प्रतिस्पर्धा

मंसिर ११ देखि १३ सम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७४ पदका लागि १ सय २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गर्दा १२७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार दुई वटा पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ । जसले गर्दा दुवै जना निर्विरोध भएका छन् । द्विराष्ट्रिय संघमा नेपाल–इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भए ।

प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसअनुसार प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् । तर निर्वाचन समितिले भने निर्विरोध भएको घोषणा गरिसकेको छैन ।

‘उक्त पदका लागि एउटा मात्र उम्मेदवारी परेको छ,’ निर्वाचन अधिकृत लीलामणि पौडेलले भने । निर्विरोध भएका दुवै सदस्य वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलका हुन् । ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार दाबी विरोध उजुरीको समय पनि राखिएको छ ।

दाबी विरोध परेर निर्णय गरेपछिको उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशन गरिनेछ । त्यसपछि उम्मेदवारी फिर्ता लिने समय दिइनेछ । ‘सबै प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ,’ पौडेलले भने । त्यस्तै निर्वाचन समितिले मतदान गर्न पाउने सदस्यहरूको नामावली प्रकाशन गरिसकेको छ ।

मतदान गर्न पाउनेमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय ७, वस्तुगत समूहतर्फ १ सय १ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ वटा मताधिकार छन् । एसोसिएट समूहतर्फ ९ सय २३ छन् । उम्मेदवारको अन्तिम नामावली भने मंसिर ८ गते प्रकाशन गरिनेछ । समितिका अनुसार निर्वाचन मंसिर १३ मा हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्