
चीनले हङकङमा आलोचकहरूलाई चुप लगाउन प्रयास गरेको भनी बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजील्यान्ड र क्यानडाले आरोप लगाएपछि चीन आक्रोशित भएको छ ।
पाँच आँखे (फाइभ आइज) साझेदारीका सदस्य ती पाँच मुलुकले हङकङमा निर्वाचित विधायकहरूलाई अयोग्य बनाउने नयाँ चिनियाँ नियमको आलोचना गरेका थिए ।
यसलाई उल्ट्याउन उनीहरूले चीनलाई आग्रह गरेका थिए ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीवार राजधानी बेइजिङमा पत्रकारहरूलाई बताए, ‘उनीहरू सतर्क हुनुपर्छ अन्यथा उनीहरूको आँखा झिकिनेछ ।’
‘चिनियाँहरू कहिले पनि समस्या निम्त्याउँदैनन् र कसैसँग पनि कहिल्यै डराउँदैनन्,’ झाओले बताए । ‘उनीहरूसँग पाँच वा दश जति आँखा भए पनि फरक पर्दैन ।’
अघिल्लो साता हङकङको विधायिकाले लोकतन्त्रसमर्थक चार विधायकलाई निष्काशन गरेको थियो । राष्ट्रिय सुरक्षामा खतरा भनी मानिएका राजनीतिकर्मीलाई निकाल्न मिल्ने कानून बेइजिङले पारित गरेपछि उक्त कदम चालिएको थियो ।
त्यसको जवाफमा हङकङका सबै लोकतन्त्रसमर्थक विधायकहरूले सामूहिक राजीनामाको घोषणा गरे । सन् १९९७ मा बेलायतले चीनलाई हङकङ फिर्ता गरेदेखि पहिलोपटक विधायिकामा विरोधमत राख्ने लगभग कोही पनि छैनन् ।