कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरू भएको छ ।
नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १.४ करोड रहेको छ । यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने छ ।
यो दोस्रो चरणको सामग्री वितरण अभियान माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा शुरुवात गरिएको हो ।
नेरेसोले कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकोमा रेडक्रसको प्रशंसा गर्दै मन्त्री ढकालले प्रत्येक प्रदेशमा रहेका ठुला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजना अनुसार कोकाकोलासँगको साझेदारीमा रेडक्रसले प्रदान गरेको भेन्टीलेटरहरु सातै प्रदेशमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सरकारले ल्याएको स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाईमा सहज हुने अपेक्षा राख्दै हस्तान्तरण समारोहमा मन्त्री ढकालले भने, “विभिन्न अभावहरुका विच महामारीसँग लड्नु पर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ ।”
सोहि अवसरमा नेरेसो र कोका—कोलाबाट उपलब्ध गराइएको सामग्रीहरु मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रसका कार्यबाहक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोका—कोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स् डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।
आज हस्तान्तरण गरिएका सामग्रीमा १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् ।
त्यसैगरी आगामी दुई हप्ता भित्र सात प्रदेशका तोकिएका अस्पतालहरुमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने छ । उत्त सामाग्रीहरु कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।
“नेपालले कोभिड—१९ समाहित गर्न संघर्ष गरिरहेको छ, हामीले यो सुनिश्चित गर्नुपर्छ कि सरकारलाई पर्याप्त सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रससँग कोका—कोलाको साझेदारीले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र विरामीहरूको उपचारको लागि भेन्टिलेटरहरू प्रदान गर्दछ”, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो ।
“नेपाल रेडक्रस र कोका—कोला नेपालको यो साझेदारी कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न तथा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुलाई संरक्षण गर्ने एउटा प्रयास हो,” नेपाल रेडक्रसकी का.बा. अध्यक्ष सर्मिला कार्कीले भनिन्।
हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोभिड रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउँदै कोकाकोलासँगको साझेदारीमा पनि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र कोभिड उपचारको सेवा लिन आउने मानिसहरुलाई सेवा पुर्याउने खालका सामाग्री सहयोग गरिएको बताए ।