
चक्रपथको दोस्रो खण्ड कलंकी–धोबीखोला (गोपीकृष्ण हल नजिकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ ।
चीन सरकारले निर्माण शुरू गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।
सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म ८ घरका घरधनी सम्पर्कमा आएको काठमाडौं चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैं पहिले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो ।
तिहार पहिले प्रजिअ दाहाललाई कोभिड संक्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उनले बताए । उनले भने, ‘छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुंग्याएर अघि बढ्नेछौं ।’
अहिले वडा कार्यालयबाट ती घरको विवरण मागिएकाले त्यसैका आधारमा मूल्यांकन गरेर काम अघि बढ्ने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिए । सानो भर्याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो । उनले भने, ‘प्राधिकरणले ठेक्का निकाल्न लागेको छ, २ महिनामा सकाउने तयारी छ ।’
काठमाडौं महानगरपालिकाले स्वयम्भू नजिकै रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उनको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रुख काट्न र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने उनले बताए ।
२ महिना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउनका लागि समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरिएको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) मा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम शुरू गर्ने बताएको छ ।
कोटेश्वर–कलंकी सडक निर्माण गरिएसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । गोरखा भूकम्प पहिले नै कोटेश्वर–कलंकी सडक विस्तारको काम शुरू भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन ।
सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका खम्बा र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला निम्तेका समस्या पहिले सल्टाएर मात्रै काम शुरू गर्न चिनियाँ टोलीले चाहेको छ ।
चक्रपथ दोस्रो खण्डमा २ ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै ८ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।