
अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनको कार्यकालमा चीन र अमेरिकाको सम्बन्ध स्वतः सुध्रिने भ्रम त्याग्न चीन सरकारले एक विज्ञले सुझाव दिएका छन् ।
वाशिङटनले बेइजिङप्रति कठोर अडान राख्न सक्ने भएकाले त्यसको तयारी गर्न उनले सल्लाह दिएका छन् ।
शेनझेनमा रहेको थिंकट्यांक एड्भान्स्ड इन्स्टिच्युट अफ ग्लोबल यान्ड कन्टेम्पोररी चाइना स्टडीजका डीन झेङ योङनियानले अमेरिकासँग सम्बन्ध सुधार्नका लागि चीन सरकारले सबै अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन् ।
‘
सुखद दिनहरू बिते । अमेरिकामा शीतयुद्धको मानसिकता भएकाहरू विगत कैयौं वर्षदेखि सक्रिय हुन थालेका छन् र तिनीहरू रातारात गायब हुँदैनन्,’ झेङले क्वाङ्चोमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको साइडलाइनमा आयोजित एक अन्तर्वार्ताको क्रममा बताए ।
गत अगस्ट महिनामा राष्ट्रपनि सी चिनफिङले आयोजना गरेको एक गोष्ठीमा चीनको दीर्घकालीन रणनीतिमा विषयमा सल्लाह दिन पुगेका झेङले चीन घेराउका लागि अमेरिकामा एकमत बनेको बताए ।
ह्वाइट हाउस प्रवेश गर्दै गर्दा चीनप्रति अमेरिकी जनताको घृणाको फाइदा बाइडनले उठाउन सक्ने झेङले बताए । ‘अमेरिकी समाज विभाजित छ । बाइडनलाई त्यसलाई एकताबद्ध गर्न सक्छन् जस्तो लाग्दैन,’ झेङले भने ।
‘उनी कमजोर राष्ट्रपति हुनेछन् । उनले देशको समस्या समाधान गर्न नसके कूटनीतिक मोर्चामा केही गर्न सक्छन्, चीनविरुद्ध कुनै कदम चाल्न सक्छन् । ट्रम्पलाई लोकतन्त्र र स्वतन्त्रता प्रवर्द्धनमा चासो थिएन, बाइडनलाई छ । ट्रम्पलाई युद्धमा चासो थिएन तर डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले युद्ध शुरू गर्न सक्छन् ।’
चीन र अमेरिकाबीचको सम्बन्ध ट्रम्पको शासनकालमा बिग्रेको छ । कोभिड–१९ व्यवस्थापन, व्यापार र मानवअधिकारको विषयमा उनीहरूबीच विभाजनको स्थिति छ ।