
जुम्लाका क्रियाशील पत्रकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठी पठाएका छन् ।
चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेट मात्र नभएर फोनबाट सूचना लिन खोज्दासमेत फोन रिसिभ नगरी सूचना पाउने अधिकारबाट वञ्चित गराएको आरोप लगाई पत्रकारले आज सूचना माग्न जिल्ला हुलाक कार्यालय जुम्लाबाट चिठी पठाएका हुन् ।
गत असोज २६ गते मुनिराज क्षेत्रीलाई प्रतिष्ठानको तेस्रो डीन नियुक्ति गरेको विरोधमा प्रतिष्ठान कर्मचारी समाजले गरेको तालाबन्दीले उब्जेको समस्याका विषयमा दुई सातादेखि भौतिक भेटका साथै फोन सम्पर्कबाट सूचना लिन खोज्दा उपकुलपति प्रा डावाग्लेले भेट र फोन रिसिभ दुवै नगरेकाले सूचना पाऊँ भननी हुलाकबाट चिठ्ठी पठाइएको नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।