
कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब संकलन शुरू गरेको छ ।
जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब संकलन शुरू गरेको हो ।
सोमवारदेखि नागरिकको सेवामा खटिएको भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरू लकडाउनको शुरू अवधिदेखि नै कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरूआत गरिएको जानकारी दिए ।
नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट ट्रेसिङमा परेका शंकास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा १ पटकमा २ जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैं परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमवार वडा नम्बर १३ मा स्वाब संकलन गरिएको छ भने मंगलवारदेखि अन्य वडामा हुनेछ ।