२५ असार २०८३, बिहीबार

न्यायपालिकाका कर्मचारीको सम्मेलन सम्पन्न, २५ बुँदे घोषणापत्र जारी

न्यायपालिकाका कर्मचारीको सम्मेलन सम्पन्न, २५ बुँदे घोषणापत्र जारी

२५ बुँदे घोषणापत्र जारी गर्दै न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन, २०७७ सम्पन्न भएको छ ।
२५ बुँदेमा न्यायपालिकाको मर्यादा र गरिमा कायम गरी न्यायालयप्रति जनआस्था वृद्धि गर्नेलगायत विषय छन् ।
 
मङ्गलबार शुरु भएको दुई दिने सम्मेलनले आज सार्वजनिक गरेको घोषणापत्रमा न्याय सम्पादनको कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन न्यायपालिकाको एक्लो प्रयास सम्भव नहुने हुनाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।
   
सम्मेलन समापनमा अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले छलफलका क्रममा आएका सुझावका आधारमा तयार पारिएको कार्यपत्र कार्यान्वयनमा अधिकतम प्रयास गरिने प्रतिबद्धता जनाए । उनले ऐन, कानून र नजिरले दिएको बाटोबाट न्यायिक विवेक प्रयोग गरेर कार्यसम्पादन गर्दा व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी पूरा गर्न सकिनेतर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।
 
सर्वोच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवरले तहगतरुपमा हुने व्यवस्थापकीय जिम्मेवारी भूमिका तथा हामी आफ्नै अपेक्षा र सरोकारका विषयसमेत उठान भएकाले यसको कार्यान्वयनमा अगाडि बढिने बताए । उनले सर्वोच्च अदालतका प्रशासनिक नेतृत्वबाट यसको कार्यान्वयनलाई महत्वका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
 
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उक्त सम्मेलनको उद्घाटन गर्दै न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गरेका थिए ।

सम्मेलनमा उच्च अदालतका रजिष्ट्रार, उपत्यकामा रहेका विभिन्न न्यायाधीकरणका रजिष्ट्रार तथा स्रेस्तेदार, जिल्ला अदालतका स्रेस्तेदार र तहसिलदारको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्