१५ असार २०८३, सोमबार

साउनयता ३२६ व्यापारिक फार्मलाई कारबाही, १ करोड २० लाख ५ हजार जरिवाना

मंसिर १०, २०७७
साउनयता ३२६ व्यापारिक फार्मलाई कारबाही, १ करोड २० लाख ५ हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३२६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

विभागले चालू आर्थिक वर्षको साउनदेखि मंसिर ८ गतेसम्म गरेको बजार अनुगमनमा ३२६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिवाना गरेको हो ।

विभागका अनुसार गत साउनदेखि मंसिर ८ गतेसम्म १ हजार २१२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३२६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिवाना गरेको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिर ८ गतेसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ । सो अवधिमा ६० लाख ८८ हजार १०९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले चालू आर्थिक वर्षको साउनदेखि मंसिर ८ गतेसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । प्रवक्ता सेढाईंले बजार अनुगमन गर्दा खाद्य सामग्रीमा म्याद सकिएका खाद्यान्नमा पुनः म्याद राखेर बिक्री गर्ने, अनलाइन व्यापारमा खाद्यान्न, मार्ट, लेबल नभएका, एउटा भनेर अर्कै व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गरिएको गरेको बताए । उनले १ हजार २१२ वटा व्यवसायमा अनुगमन गर्दा ८७ वटा व्यवसायमा मात्र सामान्य अवस्थामा बताए ।

प्रवक्ता सेढाईंले भने, ‘बजारलाई व्यवस्थित गर्न विभागले मात्र नभएर प्रदेश र स्थानीय तहले सबै जिम्मेवार निकायले प्रभावकारी ढंगले बजार अनुगमन गर्नुपर्छ । एक्लो विभागले मात्र बजारलाई व्यवस्थित गर्न सक्दैन । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ । विभागले नियमित रूपमा बजार अनुगमन गरेर कारबाही गरेको नै छ । तर बजारमा मूल्यवृद्धि, ठगी, मिसावट भने कायमै छ । त्यसकारण बजारमा व्यापारीको मनपरीलाई नियन्त्रण गर्न विभाग एक्लैले सक्दैन । सबै जिम्मेवार निकायले बजार अनुगमन गरेर व्यवस्थित गर्न सकिन्छ ।’

चाडपर्वको बेला सक्रिय हुने बजार अनुगमन अन्य समयमा नहुँदा बजारमा व्यवस्थित नहुने उपभोक्ताको गुनासो छ । विभागका अनुसार ४ महिनाको अवधिमा बजार अनुगमन गर्ने क्रममा १९ वटा अनलाइन व्यापार र औषधि पसल, २५ वटा खाद्य किराना पसल, ११ वटा पानी उद्योग, २४ वटा मदिरा पसल, १८ वटा मिठाई पसल, १० वटा मार्ट, ६ कपडा पसललगायतलाई कारबाही गरिएको छ ।

म्याद नाघेको खाद्यान्नमा पुनः म्याद राखी कमसल सामान बिक्री गर्ने कलंकीस्थित विष्णुलक्ष्मी इन्टरप्राइजेज र शंकर बयलकोटी र लगानीकर्ता रोनक बोधरालाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ जरिवाना र १ वर्ष कैदको व्यवस्था गरेको छ । रिलेबलिङमा संलग्न विष्णुलक्ष्मी इन्टरप्राइजेजको फार्मसमेत खारेज भएको पाइएको छ । म्याद नाघेका सामान बिक्री गरेको कसुरमा आयन इन्टरप्राइजेजकी सञ्चालक पुष्पादेवी अग्रवालसहित ५ जनालाई कारबाही गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्