
मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब चलचित्रको रुपमा दर्शकले हेर्न पाउने भएका छन् ।
२०७३ सालमा मञ्चल भएको कथा सुलक्षण भारतीले लेखन र निर्देशन गरेका थिए । सरीता गिरीको एकल अभिनय थियो ।
चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्नेछन् । केकी अधिकारी फिल्मस्को ब्यानरबाट निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा देखिने भएका छन् ।
चलचित्रका लागि आवश्यक अन्य कलाकार भने अडिसनमार्फत चयन गरिने बुझिएको छ । अब निर्माण टीमले ४ महिना वर्कशप थाल्नेछ । त्यसपछि मात्रै छायांकनमा जानेछ ।
‘बोक्सीको घर’लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा विशाल भण्डारी छन् । यसअघि केकी र विशालले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ खासै चलेको थिएन । त्यसपछि उनीहरू टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शुरू गरेका थिए । यो भने निकै चलेको थियो ।