०८ असार २०८३, सोमबार

घाइतेको मृत्यु भएपछि बर्दिबासमा फेरि आन्दोलन

मंसिर १०, २०७७
घाइतेको मृत्यु भएपछि बर्दिबासमा फेरि आन्दोलन

महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । 

मंगलवार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले बुधवार फेरि आन्दोलन चर्केको हो ।

सञ्जय उपनामले चिनिने न्यौपाने मंगलवार बर्दिबास चोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए ।

तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलवार राति मृत्यु भएपछि सो खबर फैलनासाथ बुधवार बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ ।
      
बर्दिवास–१४ का साइद आलमकी ६ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलवार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागेर न्यौपाने घाइते भएका थिए । न्यौपानेसँगै घाइते भएका बर्दिबास–५ का श्याम कार्कीको भने काठमाडौंमै उपचार भइरहेको छ ।

अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

आइतवार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमवार मध्यरातमा घर नजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमवार साँझ नै पक्राउ गरेको छ ।

सोमवार साँझ स्थायी घर गौशाला–५ पुगेका साहले बुवाआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्‍याएर प्रहरीको जिम्मा लगाएका थिए । साहलाई बर्दिबास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमवार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।

सोमवार मध्यरातमा शव बरामद भएपछि हत्यारालाई सार्वजनिक ठाउँमा कारवाहीको माग गर्दै मंगलवार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित ३ तले घरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले बालिकाको शव पूर्वपश्चिम राजमार्गमा लगेर चर्का नाराबाजी गरेका थिए ।

प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक भएको हुँदा शव परीक्षण गर्न अस्पताल लैजाने बताए पनि प्रदर्शनकारीले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले दर्जनौँ राउण्ड गोली फायर गरेको थियो । प्रहरीले चलाएको गोली लागेर न्यौपाने र कार्की घाइते भएका थिए ।

मंगलवार प्रहरी जनशक्ति पर्याप्त भएका बेला भीड तितरवितर गर्न सामान्य बल प्रयोगबाटै स्थिति नियन्त्रणमा आउनसक्ने विकल्प प्रयोग नगरी गोली नै चलाइएको स्थानीय बताउँछन् । प्रहरीले भने शव नदिएर प्रदर्शनकारीले आपूmहरूमाथि जथाभावी ढुंगामुढा हानेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्