ट्विटरले आधिकारिक अकाउन्टको पहिचान दिने ब्लु टिक शुरू गर्दा त्यसलाई निकै ठूलो उपलब्धि मानिएको थियो ।
आधिकारिकता दिलाउने ब्लु टिकलाई मानिसहरूले सम्मानका रूपमा लिने गरेका थिए ।
तर यसमा विवाद पनि आएपछि ट्विटरले सन् २०१७ मा यसलाई निरन्तरता दिएन । अब फेरि यसलाई ब्युँताउने ट्विटरले घोषणा गरेको छ ।
ट्विटरले निर्देशिका जारी गरेर ६ प्रकारका अकाउन्टलाई मात्र ब्लु टिक दिने बताएको छ । त्यसमा सरकारी अधिकारी, ब्रान्ड र गैरनाफामूलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद र अभियन्ताहरू पर्नेछन् । ट्विटरले यी ५ वटै क्याटेगोरीका लागि क्राइटेरिया पनि विस्तृत रूपमा प्रस्तुत गरेको छ ।
भेरिफिकेसनका लागि निवेदन दिने अकाउन्टमा प्रोफाइल नेम, बायो, प्रोफाइल र ब्यानर इमेज पूरा हुनुपर्छ । यो सक्रिय रूपमा सञ्चालन गरिएको हुनुपर्छ । अकाउन्टमा कन्फर्म गरिएको इमेल एड्रेस वा फोन नम्बर हुनुपर्छ र यसले विगत ६ महिनामा ट्विटरको नियम उल्लंघन गरेकोमा १२ घन्टा वा सात दिनको लकआउट सजाय नबेहोरेको हुनुपर्छ ।
कुनै अकाउन्टहरू ब्लु ब्याजका लागि अयोग्य रहेको ट्विटरले स्पष्ट पारेको छ । यसमा प्यारोडी, न्युजफीड, कमेन्टरी र फ्यान अकाउन्ट छन् । यसबाहेक घरपालुवा जनावर र काल्पनिक पात्रको नाम भएको अकाउन्टले पनि ब्लु टिक पाउने छैन यद्यपि भेरिफाइड कम्पनी, ब्रान्ड वा संस्था वा भेरिफाइड मनोरञ्जन कम्पनीसँग सीधै संलग्न भएकालाई यसमा छुट छ ।
फलोअर किन्ने वा बेच्ने अनि हानिकारक गतिविधि गर्ने र घृणास्पद सामग्री राख्ने अकाउन्टहरू पनि ब्लु टिकका लागि अयोग्य ठहरिनेछन् ।
नयाँ भेरिफाइड अकाउन्टहरू कहिलेदेखि शुरू गरिने भनी ट्विटरले पुष्टि गरेको छैन तर सन् २०२१ को आरम्भतिरै यसलाई ल्याउने बताएको छ ।