विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यावहारिक ज्ञान दिन बागलुङको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो ।
जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार १ लाख ५० हजारको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिए ।
‘व्यावहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ,’ आचार्यले भने, ‘भूकम्पसम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुनेछ ।’
विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्नसक्ने उनले जानकारी दिए । ‘सामान्य भूकम्पको धक्काको विषयमा विद्यालयमा नै जानकारी हुन्छ, जसका कारण नगरवासी सबैले सूचना पाउने माध्यम बन्छ,’ उनले भने, ‘स्थानीयस्तरको २ दशमलव ५ माथि र ४ रेक्टर स्केलभन्दा माथि नेपालभर गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्छ ।’
नगरपालिकाले शान्ति माध्यमिक विद्यालय आसपासका अन्य विद्यालयका विद्यार्थीको लागि समेत यो सिकाइ केन्द्र बनाउनुपर्ने भनेको छ । ७ रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताए ।