२८ जेठ २०८३, बिहीबार

सर्लाहीका उखु किसानले अझै पाएनन् भुक्तानी

मंसिर १०, २०७७
सर्लाहीका उखु किसानले अझै पाएनन् भुक्तानी
फाइल फोटो

सर्लाही जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन ।

केही दिनअघि स्थानीय उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् ।

काठमाडौंमा राष्ट्रपति, उद्योग मन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर १ हप्ताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताए । उनका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्‍यो ।

सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ ।

‘छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौं । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो,’ उनले भने । गत वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले ३–४ वर्षअघिदेखि नै किसानसँग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी छ । भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैंसम्म रुवाइरहेका अध्यक्ष मैनालीको भनाइ छ । उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले करीब ३० करोड रुपैयाँ र महालक्ष्मीले करीब ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसान निराश भएका छन् ।

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ । ३–४ वर्ष पहिला देखिको किसानका भुक्तानी बाँकी राखेका उद्योग फेरि सञ्चालनको तयारी गर्न किसानका लागि थप पीडा दायी हुने किसानको भनाइ छ । किसानले पटक–पटक आन्दोलन गर्दा पनि यी २ उद्योगले किसानको भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्