
भारतको तेजपुर शहरमा एक बाघले एक व्यक्तिलाई आक्रमण गरेर १५ फीट गहिरो खाडलमा धकेलिदिएको छ ।
निकुञ्जबाट भागेको बंगाल टाइगरले दर्जनौं मानिसमाथि आक्रमण गरेको थियो । उसले दुईजनालाई घाइते पनि बनायो ।
बाघबाट भागिरहेको मानिसलाई उफ्रेर आक्रमण गरेको भिडियो फूटेज सार्वजनिक भएको छ । उक्त व्यक्ति र बाघ दुवै खाल्डोमा पसेका थिए भने अन्उ मानिस भागेका थिए ।
पशुचिकित्सक तथा वन अधिकारीहरूले बाघलाई सुई हानेर बेहोश पार्न खोजेका थिए । तर खुला ठाउँमा सुई हान्दा बाघले अरूलाई आक्रमण गर्ने भय थियो ।
बुधवार बिहानसम्म पनि उक्त बाघ खुलै घुमिरहेको विश्वास गरिएको छ ।
वन अधिकारी पी शिवकुमारले बाघलाई शान्त बनाउन र आवश्यक परेमा हटाउन एक टोली तयारी अवस्थामा रहेको बताए ।
‘बाघ कुनै भवनमा अड्कियो भने सुई लगाएर बेहोश पार्न सजिलो हुन्छ,’ उनले भने । ‘तर ऊ खुला घुमिरहँदा बेहोश बनाउन गाह्रो पर्छ । सुई लागेपछि बाघ भाग्न सक्छ र अरू मानिसलाई आक्रमण गर्न सक्छ ।’
बाघ कि त काजीरंगा राष्ट्रिय निकुञ्ज कि त नामेरी वन्यजन्तु आरक्षबाट भागेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।