
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पीकअप खसेर बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु१च ९७३१ नम्बरको पीकअप भ्यान त्रिशूलीमा खसेको थियो ।
सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरूको शव भ्यानभित्र भेटिएको हो ।
प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पीकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता भएका थिए भने १ जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ ।
सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।