
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ ।
कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।
डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष थिए ।
शाक्यको निधनप्रति रेग्मीले गहिरो दुःख व्यक्त गरेका छन् । ‘उहाँको क्षमता र निष्ठा देखेर मेरो कार्यकालमा उपाध्यक्षमा नियुक्त गरेको थिएँ, उपाध्यक्षको रूपमा उहाँले राम्रो कार्यसम्पादन निर्वाह गर्नुभएको थियो । राज्यलाई योगदान दिएका शाक्यको निधनले देशलाई पनि क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ रेग्मीले भने ।
उनले तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी बहन गरेका थिए ।
आयोगको सचिव बनेका डा. शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव थिए ।
उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरू गरेका थिए ।
शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
स्व डा शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन् ।
गत कात्तिक २० गते डा शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए ।
त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गाैलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ ।
काठमाडौँको वटुटोल निवासी डा. शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।