०७ साउन २०८३, बिहीबार

भारतीय विदेश सचिव श्रृंगलाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता

मंसिर ११, २०७७
भारतीय विदेश सचिव श्रृंगलाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालय सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बतायो ।

परराष्ट्रमन्त्रीसँग भेटनुअघि विदेशसचिव श्रृंगला नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरत पौड्याल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए ।

भारतले गतवर्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा प्रकाशित गरेपछि दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको थियो । अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेको थियो ।

दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको समयमा शुरु भएको परराष्ट्र सचिवस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ ।

काठमाडौं उत्रिएपछि विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव श्रृंगलाले नेपाल भारत सम्बन्ध बलियो रहेको बताएका थिए । उनले नेपाली भाषामै सम्बोधन गरेर मन जित्ने कोशिस गरेका थिए ।

भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीवार नै भेटवार्ता गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्