
कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा बनाएको हो ।
कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
उनी बिहीबार साँझ ५ः३० वजे कारागारको पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच कारागार कार्यालय चितवनबाट थुनुवा भागेको विषयलाई लिएर स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।