
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, एकीकृत विकास व्यवस्थापन हुन नसक्नुलाई स्थानीय तहको साझा समस्या भएको बताएका छन् ।
शुक्रवार गण्डकी प्रदेशको कावासोती नगरपालिकाका प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरूसँगको भेटमा आपसी अनुभव आदान प्रदान गर्दै यस्तो धारणा राखेका हुन् ।
मेयर शाक्यको नेतृत्वमा नवलपरासी जिल्लाको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना सम्झौतामा हस्ताक्षर गर्न जाने क्रममा बाटोमा पर्ने स्थानीय तहको भ्रमण अवलोकन गर्न कावासोती नगरपालिका पुगेका छन् । उनीसँग उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी छन्।
'काठमाडौंले सहरी शासनको अभ्यास गरेको १ सय बर्ष पूरा गरेको छ । तर अझै पनि हामीले गर्नु पर्ने काम धेरै बाँकी छन्,' मेयर शाक्यले भने. ‘सहरी आचरण, सहरी शासन र विकास व्यवस्थापनमा नयाँ नगरले पूरानाबाट धेरै कुरा सिक्न सक्छन् । एकीकृत विकास व्यवस्थापन प्रणाली स्थापना गर्न नसक्दा काठमाडौंले गरेका विकास पूर्वाधार काम अस्थायी भए । आज निर्माण सम्पन्न भएका योजना केही समय पछि फेरि भत्काउनु पर्ने भयो । एकीकृत विकास नहुँदा यो अवस्था भएको हो ।’ ‘कावासोती जस्ता भर्खर सहरी चरित्रको अभ्यास थालेका नगरले हामीले भोगेको दुःख र हामीले सामना गरेका चुनौती सामना गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’
प्रमुख शाक्यले थप्दै भने,‘हामी हाम्रा सिकाइ र अनुभवबाट नयाँ सहरका समस्या समाधानमा सहज बनाउन चाहन्छौं । सबै स्थानीय तहका जनप्रतिनिधिको लक्ष्य र अपेक्षा एउटै छ । भूगोल र परिवेश अनुसार कार्यशैली मात्र फरक हो । त्यसैले सबै मिलेर साझा लक्ष्य पूरा गरौं । स्थानीय शासनलाई मजबुत बनाऔं । पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन र सहरी सुबिधा वितरण पूर्वाधारको अन्तरसम्बन्ध मिलाएर काम गर्न जरुरी छ ।’
त्यस क्रममा कावासोती नगरकी प्रमुख चन्द्रकुमारी पुनले, आफूलाई समस्या परेका बेला काठमाडौं हेर्ने गरेको बताइन् । ‘नयाँ नगर भएकाले समस्या परिरहन्छन् । हामी काठमाडौं के गर्दैछ हेरेर समस्या समाधानको उपाय निकाल्छौं ।’ पुनले थप्दै भनिन्, ‘कानुनी प्रबन्ध, स्रोतको परिचालन, विकास निर्माण र व्यवस्थापन अहिलेका लागि हाम्रा मुख्य चुनौती हुन् । काठमाडौंले यी समस्या समाधान गर्न सहयोग गर्ने मैले अपेक्षा गरेकी छु ।’
'३ तहका सरकार छन् । तर जनता ठोक्किने ठाउँ भनेको स्थानीय तह नै रहेछ ', भेटका क्रममा नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भनिन्,‘स्थानीय तहलाई आवश्यक पर्ने व्यवहारिक कानुन निर्माणमा काठमाडौंले नेतृत्व गर्नुपर्ने देखेकी छु ।’
त्यस क्रममा महानगरका कानुन विभागका प्रमुख बसन्त आचार्यले स्थानीय स्वायत्त शासन नामक पुस्तक मेयर पुनलाई र मेलमिलाप नामक पुस्तक उपप्रमुख थारुलाई हस्तान्तरण गरेका थिए । ती पुस्तकहरू उनी आफैंले लेखेका हुन् ।
भेटका क्रममा नगरका उपप्रमुख प्रेम शंकर मर्दनीय थारुले, काठमाडौं हेरेर आफूले गरेका निर्णयको परिणाम राम्रो आएको बताए ।
मेयर शाक्यले शनिवार रामग्राम नगरसँग भगिनी सम्बन्ध सहमति पत्रमा हस्ताक्षर गर्नेछन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीकाअनुसार काठमाडौं महानगरले देशभित्रका नगरसँग भगिनी सम्बन्ध सम्झौतामा हस्ताक्षर गरेको यही नै पहिलो हो । महानगरले जुम्लाको चन्दननाथ नगरपालिका र सिन्धुपाञ्चोकको मेलम्ची नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरिसकेको छ । ती नगरसँग समय मिलाएर सम्झौता हुनेछ ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व ८ वटा पालिका छन् । जसमध्ये ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका पर्छन् । नगरमा १७ वटा वडा छन् । १४ हजार १०४ घर धुरी रहेको यस नगरका ०६८ को जन गणनाअनुसार ६२ हजार ४२१ महिला र ३३ हजार ८०५ पुरुष छन् ।
नगरपालिकाले पर्यटन प्रवर्द्धनका कार्यक्रममार्फत पहिचान बनाउने रणनीति बनाएको छ ।