०१ असार २०८३, सोमबार

पोल मात्र गाडिए, बिजुली आएन

मंसिर १३, २०७७
पोल मात्र गाडिए, बिजुली आएन

कतै बिजुलीका पोल गाडिएका छन् तर तार तानिएका छैनन् । कतै पोल, तार र ट्रान्सफर्मरलगायतका सामान बाटामा असरल्ल छन् । कुनै ठाउँमा पोल गाडेर तार तानेको भए पनि बिजुली बलेको छैन । बझाङका प्रायः गाउँमा दुई वर्षदेखि यस्ता दृश्य जताततै देखिन्छन् ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् गाउँगाउँमा पुर्‍याउन सुरु भएपछि जिल्लावासीले अँध्यारोबाट मुक्ति पाउने सपना बोकेका थिए । तर सबैतिर प्रगति भने न्यून छ । ‘पोल गाडेको वर्ष दिन भइसक्यो । अघिल्लो वर्ष फागुनमै बिजुली बल्छ भन्थे,’ जयपृथ्वी नगरपालिका–१ कैलासका अनिल कामीले भने, ‘अर्को फागुन आउन लागिसक्यो, पोलमा तार पनि तानेका छैनन् ।’

पोल गाड्न सुरु भएसँगै बिजुली बल्ने कुराले उत्साहित स्थानीय बीचैमा काम रोकिएपछि निराश भएको स्थानीय दल खड्काले बताए ।

विद्युत् आएपछि सानोतिनो उद्योगधन्दा खोलेर गाउँमै केही काम गर्ने सोच बनाएका युवा पनि बिदेसिन बाध्य भएको गाउँवासीको गुनासो छ । ‘अब विद्युत् आउने भयो । गाउँमै केही सीप गरेर खान्छौं भनेर बसेकाहरू पनि निराश भएर इन्डिया जान थालिसके,’ खड्काले भने । ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि बिजुली नबल्दा जयपृथ्वी नगरपालिकाको कैलास गाउँको मात्रै होइन, जिल्लाका ११ वटा पालिकाका दर्जनौं गाउँको अवस्था उस्तै छ ।

१२ वटा पालिका रहेको बझाङमा दुर्गम साइपाल गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि ठेक्का भए पनि काम हुन सकेको छैन । करिब एक किलोमिटर ११ केभी मुख्य लाइन र १ हजार २ सय ५० मिटर शाखा लाइन विस्तारका लागि पोल गाड्ने, लाइन तान्ने, ट्रान्सफर्मर जडान गरी विद्युत् बाल्नेसम्मको काम सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण केन्द्र बझाङले विभिन्न समयमा टेन्डर आह्वान गरेको थियो ।

२ करोड ५० लाखमा सम्पन्न हुने लाइन विस्तारका लागि ११ वटा कम्पनीसँग ठेक्का सम्झौता भए पनि विभिन्न कारणले काम नसकिएको प्राधिकरणको विद्युत् वितरण केन्द्र बझाङका प्रमुख राकेसप्रसाद भट्टको भनाइ छ ।
८७ वटा ट्रान्सफर्मर जडान गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीहरूले हालसम्म ३७ वटा जडान गरेका छन् । ट्रान्सफर्मर जडान भइसकेका धेरैजसो ठाउँमा पनि विद्युत् बल्न बाँकी रहेको प्रमुख भट्टले बताए । ‘काम ढिलो हुनुको मुख्य कारण लकडाउन हो ।

लकडाउन सकिएपछि बर्खाको समयले पनि भनेजस्तो काम भएन,’ उनले भने, ‘अहिले ठेकदारहरू काम गर्न तयार थिए तर लाइन विस्तारको लागि चाहिने सामानको अभावले समस्या भएको छ ।’ उनले बिजुलीका पोल, तार, ट्रान्सफर्मरलगायतका सामान खरिद प्राधिकरणको केन्द्रीय र क्षेत्रीय कार्यालयले गर्ने भएकाले आवश्यक सामान उतैबाट नआउँदा काम रोकिएको बताए । मंसिरभित्रै सामान आइपुग्ने आश्वासन पाएको उनले जानकारी दिए । कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्