२८ असार २०८३, आइतबार

दृष्टिविहीन शिला–कृष्णको ‘मुनामदन’ जस्तो जोडी : शिक्षाको ज्योति फैलाउँदै

मंसिर १३, २०७७
दृष्टिविहीन शिला–कृष्णको ‘मुनामदन’ जस्तो जोडी : शिक्षाको ज्योति फैलाउँदै

रूपन्देहीका शिला घिमिरे र कृष्ण जिसीको जोडी अल्पदृृष्टिविहीन हो । ‘लो भिजन’ भएका दुवै जनाले नजिकैको वस्तु र मानिसबाहेक अरु देख्न सक्दैनन् ।

१२ वर्षअघि प्रेम विवाह गरेको शिलाको जोडीको सफलता देख्दा जो कोही व्यक्तिलाई पनि जीवनमा केही गर्नुपर्छ भन्ने पाठ सिकाउँछ । साँच्चै उनीहरूको दृष्टिलाई देखेरे सृष्टिले नै जुराइदिएको जस्तो लाग्छ ।

दृष्टिविहीन भएर पनि आत्मविश्वास र संघर्षले सरकारी सेवामा प्रवेश गरेको तिलोत्तमाको जोडी धेरैलाई ‘मुनामदन’ जस्तै लाग्छ ।

जन्मँदै आँखाको दृष्टि गुमे पनि उनीहरू दुवैले जीवनमा कहिल्यै हार मानेनन् । जसको परिणाम दुवै जनाले अरुले रेकर्ड गरेर दिएको अडियो सुनेर त्यहीँ आधारमा शिक्षक सेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गरी तेजिलो शिक्षाको प्रकाश फैलाउँदैछन् । प्रेम, संघर्ष र धैर्यताबाटै सफलता हाँसिल गरेको दृष्टिविहीन जोडी ढुक्क साथ बताउँछ ।

यसरी भयो दुवैको भेट

पाल्पाको तिनाउ गाउँपालिका मस्याममा जन्मिएकी शिलाको दृष्टि कमजोर भएकोबारे ३ महिनापछि परिवारले थाहा पाए । अरुको मुखमा हेरेर हाँस्ने बेलासम्म शिलाले आमाबुवाको अनुहारमा हेरिनन् । त्यसपछि थाहा भयो उनको आँखा कमजोर छ भनेर ।

कमजोर दृष्टि भए पनि उनी विद्यालय भर्ना भएर दुःखका साथ पढ्न थालिन् । उनी ६ कक्षामा पढ्दै गर्दा परिवारले शिलाको आँखा चेकजाँच गराउन भारतको दिल्ली, काठमाडौंको तिलगंगा र भैरहवाको रणअम्बिका आँखा अस्पतालसम्म पुर्‍याए । आँखाको शल्यक्रिया पनि भयो । तर शिलाको आँखामा दृष्टि बढेन ।

विद्यालय जाने भए पनि कक्षा कोठामा शिक्षकले पढाएको देख्दैन्थिन्, गाह्रो हुन्थ्यो । कमजोर आँखाले पनि शिला दुःख गरेर पढिन् । एसएलसी परीक्षा दिँदा उनले ‘राइटर’ राख्न पाइनन् । जसले गर्दा उनले सबै विषयमा ५० प्रतिशत मात्र प्रश्नको उत्तर लेख्न सकिन् । उनले जानेको प्रश्नको उत्तर समेत छाड्नुपर्ने बाध्यता भयो तर उनी पहिलो वर्ष २०५७ सालमै एसएलसी उत्तीर्ण भइन् ।

एसएलसी उत्तीर्णपछि उनी व्यवस्थापन विषय लिएर आईए तहमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना भइन् । आईए उनले ‘रेगुलर’ उत्तीर्ण गरिन् । स्नातक तह अध्ययनको लागि शिला बुटवल झरिन् । बुटवल बहुमुखी क्याम्पसमा भर्ना भएर उनले पढाइ सुरू गरिन् । पहिलो वर्ष पढ्दै गर्दा १ दिन क्याम्पसमा पढ्ने तिलोत्तमाका कृष्ण जिसीसँग एउटै बेन्चमा परिन् । कृष्ण नेपाली विषय लिएर पढ्थे, शिला अर्थशास्त्र पढ्थिन् । 

शिक्षाशास्त्र विषय पढ्दै गर्दा दुवै जना एउटै बेच्चमा परे । दुवै जनाले परिचय गर्दा आँखा कमजोर भएका थाहा पाए । कृष्णले नेपाल नेत्रहीन संघ रुपन्देहीमा काम पनि गर्थे । शिलालाई पनि संस्था आएर सदस्य बनेर नेत्रहीनको क्षेत्रमा लाग्न कृष्णले आग्रह गरे । पढाइसँगै दुवैजना नजिकिए ।

शिला पनि नेत्रहीन संघको कार्यसमितिमा महिला सदस्यका रूपमा आवद्ध भइन् । कृष्ण संस्थाको सचिव थिए, शिला सदस्य । दुवै जनाको कुरा, मन र भावना र काम मिल्दै गयो । 

उनीहरूमा प्रेम बस्यो । १ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निधो गरे दुवैले । २०६४ सालमा विवाह गरे । विवाहपछि दुवैको पढाइमा अवरोध आयो । कृष्णले संस्थाको कामलाई निरन्तरता दिँदै गए । उनीहरूको छोरा जन्मियो । शिक्षा विभागले तिलोत्तमा–८ स्थित जनभावना माविमा दृष्टिविहीन शिक्षकका लागि राहत दरबन्दी कोटा दियो । त्यो शिलाले थाहा पाइन् र निवेदन दिइन् । परीक्षामा पास भएर पढाउन शुरू गरेसँगै दृष्टिविहीन शिलाले शिक्षाको दृष्टि फैलाउन शुरू गरिन् ।  

१६ वर्षे उमेरमा १ कक्षामा भर्ना

गुल्मीको साविक दोहली गाविसका कृष्णको घर नजिकै विद्यालय थिएनन् । टाढाको विद्यालयमा उनको आँखा अत्यन्त कमजोर भएपछि परिवारले पठाएनन् । उनी आफैं पनि जान सकेनन् । गाउँका अन्य साथीभाइ विद्यालय जाँदा उनलाई पनि विद्यालय जाने हुडहुडी चल्थ्यो । पढ्ने तीब्र इच्छा हुँदाहुँदै पनि विद्यालय जान सकेनन् । १६ वर्ष पुगेपछि आफैं विद्यालयमा पुगेर उनी १ कक्षामा भर्ना भए, अनि शुरू भयो कृष्णको शैक्षिक यात्रा । 

विद्यालयमा शिक्षकले बोर्डमा लेखेको देख्दैन्थे कृष्ण । साथीहरूको कापीबाट सार्ने गर्थे । अन्य विषय त शिक्षकले भनेको सम्झिन्थे तर गणित सुनेर नहुने, हेर्नु पनि पर्ने । जसले गर्दा उनलाई समस्या भयो । 

५ कक्षा उत्तीर्ण भएपछि उनी बुटवल झरे । मामाघरमा बसेर बुटवलको सिद्धेश्वर लालकुमारी माविमा पढ्न शुरू गरे । दुःख झेल्दै पढ्न थाले । अन्य विषयमा उनले राम्रो अंंक ल्याएर उत्तीर्ण गर्थे । तर गणितमा उनी कमजोर भए । एसएलसीमा पनि त्यही समस्या दोहोरियो । पूरक परीक्षा दिएर कृष्णले एसएलसी उत्तीर्ण गरे । उनी आईए पढ्न बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए र उत्तीर्ण भए । स्नातक पनि बहुमुखी क्याम्पसमा भर्ना भए । स्नातक अध्ययन गर्दै कृष्ण अपाङ्गताको क्षेत्रमा काम गर्न नेत्रहीन संघमा आवद्ध पनि भइसकेका थिए । कलेजमै शिलासँग भेट भयो र प्रेम विवाह भयो ।

अनि निस्कियो शिक्षक सेवा आयोगमा नाम 

शिलाले पढाउँदै शिक्षक सेवा आयोगको तयारी गरिन् । कृष्ण पनि संस्थामा काम गर्दै शिक्षक सेवा आयोगको तयारी गरिरहेका थिए । विद्यालय, छोराको रेखदेख गर्दै र घरको काम गर्दै उनले आयोगको तयारी गरिन् । उनीहरूले आयोगका लागि रेकर्ड गरिएको अडियो सुन्ने गर्थे, रातभरि सुन्थे । 

२०७१ सालमा शिक्षक सेवा आयोगले आवेदन खोल्यो । शिलाले खुला, महिला र अपाङ्ग कोटामा फाराम भरेर परीक्षा दिइन् । आयोगको नतिजा प्रकाशित हुँदा दुवै जनाले एकसाथ पहिलो पटकमै नाम निकाल्न सफल भए । शिलाले महिला कोटा र कृष्णले अपाङ्ग कोटामा प्रावि तहमा स्थायी शिक्षकमा नाम निकाले । अनि शिलाले आफैंले पढाउँदै आएको विद्यालयमा पढाउने निरन्तरता दिँदै आएकी छन् भने कृष्ण गणेश आधारभूत विद्यालय तिलोत्तमा–११ मा पढाउँछन् । 

कृष्ण भन्छन्, ‘हामी दुवैले कहिल्यै पनि आफूलाई कमजोर ठानेनौं र अहिले पनि ठानेका छैनौं । जसले गर्दा अहिले हामी आफ्नै क्षमताले सरकारी सेवामा प्रवेश गर्न सफल भएका छौं ।’ अपाङ्गता भएका व्यक्तिलाई दया, माया र घृणा होइन, अवसर दिएमा जस्तोसुकै काम पनि गर्नसक्ने शिला बताउँछिन् ।

विद्यालय समयबाहेक अन्य बेला छुट्टिदैनन्

शिला र कृष्णको विद्यालय फरक–फरक ठाउँमा छ । कृष्ण बिहान ८ बजेतिर निस्किन्छन् भने शिला ९ बजे । कहिले अटोमा जान्छन् त कहिले सार्वजनिक सवारी प्रयोग गरेर । उनीहरू विद्यालय समयबाहेक अन्य समय छुट्टिदैनन् ।

कृष्ण भन्छन्, ‘मेरो विद्यालय अलि टाढा छ । म बिहान १ घण्टा अगाडि निस्किन्छु । उनी अलि पछि निस्किन्छिन् । नत्र अन्य समय हामी छुट्टिदैनांै । उनले कपडा भित्र्याए, मैले धुन्छु । उनले धोए मैले सुकाउँछु । उनले तरकारी काटे मैले पकाउँछ । भाडा पनि एउटाले साबुन लगाए अर्कोले पखाल्छौं ।’

दुवैले दुवैका समस्या बुझेका छन् । उनीहरू दुवैले आफूजस्तै कमजोर रहेको समुदायका क्षेत्रका व्यक्तिका लागि काम गरेर स्वरोजगार बनाउँदै राज्यको नीति निर्माण तहमा पुर्‍याउने सोच राखेका छन् । दुवै जना अहिले पनि नेत्रहीन र अपाङ्गताको क्षेत्रमा काम गर्छन । दुवैलाई विभिन्न सामाजिक संघसंस्थाले उत्कृष्ट जोडीको रूपमा सम्मान गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्