
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तिम चरणमा पुगेको छ ।
बिहान ८ बजेदेखि जारी मतदानमा जिल्ला तथा नगर र वस्तुगत तर्फको मतदान सकिएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
यस्तै एसोसिएट तर्फको मतदान पनि अन्तिम चरणमा पुगेको छ । न्यौपानेका अनुसार, कुल ९ सय मत खस्नुपर्नेमा समाचार तयार पार्दासम्म ८ सयभन्दा बढी मत खसिसकेको छ ।
वस्तुगत तर्फ कुल १ सय १ मत खसेको छ भने जिल्ला नगरतर्फ कुल १ सय ५ मतदाताले मतदान गरेका छन् ।
कोरोना महामारीलाई ध्यानमा राख्दै महासंघले काठमाडौंको तीन ठाउँम मतदान स्थल बनाएको छ ।
एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था छ ।
यस्तै कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पनि मतदानको व्यवस्था मिलाइएको छ ।
मतदान सकिएको केही बेरमा मतगणना
मतदान सकिएपछि मतगणना पनि शनिवार नै गरिने भएको छ । मतदान सकिएको केही समयपछि मतगणना गरिने तयारी भएको प्रमुख निर्वाचन अधिकृत न्यौपालेले लोकान्तरलाई बताए ।
उनले भने,‘मतदान सकिन लाग्यो, हामीले साढे ४ बजेतिर बाट नै मतगणना शुरू गर्नेछौं ।’
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।
गोल्छापछिको नेतृत्वमा आफू पुग्नका लागि पनि अहिले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारद्वय ढकाल र प्रधानबीच प्रतिस्पर्धा छ ।
मंसिर ११ गतेदेखि महासंघको ५४ औं साधारणसभा शुरू भएको हो ।