
पार्टी विवाद जटिल मोडमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार दिउँसो सवा १ बजे बैठक शुरू भएको हो । झण्डै २ घण्टादेखि जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गरिरहेका स्रोतले बतायो ।
यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंसिर ३ गतेको बैठकमा ओलीले प्रचण्डको आरोपको लिखित जवाफ दिने बताएका थिए । ती आरोपको लिखित जवाफ दिन ओलीले १० दिनको समय माग गरेका थिए । रातो झोलामा प्रतिवेदन बोकेर ओली बैठक कक्षमा छिरेका थिए ।
प्रचण्डमाथि सरकार ढाल्न लागेको आरोप ओलीले लगाएका छन् । स्रोतका अनुसार ओलीले पार्टी सञ्चालनभन्दा पनि गुटबन्दीमा लागेको, आफूविरुद्ध घेराबन्दी गरेको जस्ता जवाफ प्रचण्डलाई दिँदैछन् ।
सचिवालय बैठकपछि नेकपाले मंसिर १८ गते स्थायी कमिटी र २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि सारिएको छ ।
प्रचण्डको प्रस्तावपछि नेकपा विवाद जटिल मोडमा पुगेको छ । बैठकमा सचिवालयका सबै ९ जना सदस्य उपस्थित छन् । मंसिर ३ गतेको बैठकमा महासचिव विष्णु पौडेलले समस्या समाधानका लागि सचिवालय असफल भएको भन्दै नेताहरूले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।