
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न तयार हो भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् ।
बहुमतमा रहेका बेला पेलेर जान खोजेपछि आगामी महाधिवेशनमा समेत अंकगणितको सामना गर्न तयार हुनुपर्ने सन्देश ओलीले प्रचण्डलाई दिएका छन् ।
शनिवारको नेकपा सचिवालय बैठकमा प्रस्तुत ओलीको लिखित जवाफमा अंकगणित र बहुमतको खेलमा नलाग्न चेतावनी दिइएको छ ।
जवाफको बुँदा नम्बर १५ मा लेखिएको छ, ‘आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ । आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नुभएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी संख्या छ । बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ? ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौँ । मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिष्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ । महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईं तयार हो ? म त तयारै छु ।’