१९ असार २०८३, शुक्रबार

५३ बुँदामा ओलीको जवाफ : ‘विग्रह निम्त्याउने प्रचण्डको प्रस्ताव खारेज गरौं’

मंसिर १३, २०७७
५३ बुँदामा ओलीको जवाफ : ‘विग्रह निम्त्याउने प्रचण्डको प्रस्ताव खारेज गरौं’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएका आरोप अस्वीकार गर्दै पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव गरेका छन् ।

ओलीले पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काउन पनि आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकमा प्रस्ताव पेश गर्दै ओलीले देश र जनताको समस्या समाधान गर्न सक्ने पार्टी बनाएर आफूले अवकाश लिन चाहेको उल्लेख गरेका हुन् । 

‘म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौं र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं,’ ओलीले पेश गरेको प्रस्तावमा भनिएको छ, ‘म आश्वस्त पार्न चाहन्छु – म विचारमा, संगठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्नँ ।’ ओलीले सबैलाई कम्युनिस्ट हुनुको गौरवबोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । 

अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको प्रस्तावमाथि मंसिर १६ गते मंगलवारदेखि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा ओलीमाथि आरोप बर्साउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

शनिवार सचिवालय बैठकमा पेश गरेको जवाफमा ओलीले अहिलेका अन्तरिम कमिटीलाई अल्पमत बहुमतको खेल खेल्ने थलो नबनाउन आग्रह गरेका छन् । ‘मेरो आग्रह छ, कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔं,’ ओलीले भनेका छन् ।

ओलीले पार्टीमा अहिले भइरहेको विवाद नीतिगत बहस हो कि वार पारको लडाइँ भनेर प्रश्न गरेका छन् । ‘कमरेड ‘प्रचण्ड’, शुरूमै तपाईँलाई मेरो प्रश्न छ – पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’ ओलीले चौथो नम्बर बुँदामा प्रचण्डसँग प्रश्न गरेका छन् । 

आफूले आलोपालो प्रधानमन्त्रीको प्रस्ताव त्याग गरेको भन्ने प्रचण्डको दावीलाई ओलीले सत्तालिप्साको संज्ञा दिएका छन् । ‘चुनावबाट तेस्रो पार्टीका रूपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्त रूपमा लुकेको सत्तालिप्सा ? जे होस्, हामीले नयाँ समझदारी गर्‍यौं, म प्रधानमन्त्री बनें । यो एकतर्फी त्याग थिएन भन्ने तपाईंले हेक्का राख्नु राम्रो हुन्छ,’ ओलीले जवाफमा भनेका छन् । 

५३ बुँदामा समेटिएको ओलीको प्रतिवेदन मुख्यतः प्रचण्डले लगाएका आरोपको खण्डनमै केन्द्रित देखिन्छ । ओली र प्रचण्डको प्रस्तावमाथि सचिवालयमा मंसिर १६ गते छलफल हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्