२३ असार २०८३, मंगलबार

हिंसा छोडेर आए विप्लवलाई स्वागत गरिनेछ : ओली

मंसिर १३, २०७७
हिंसा छोडेर आए विप्लवलाई स्वागत गरिनेछ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्तावमा नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको पार्टी नेकपालाई हिँसा छोडेर मूलधारमा आए स्वागत गरिने बताएका छन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जवाफ दिँदै बरू प्रचण्डले विप्लवलाई हेर्ने शैली दोहोरो, अस्पष्ट र अन्योलग्रस्त रहेको टिप्पणी गरेका हुन् । 

ओलीले शनिवारको सचिवालय बैठकमा पेश गरेको प्रस्तावको ४९ औं बुँदामा भनिएको छ, 'समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु । विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?' 

ओलीले व्यक्तिगत रुपमा विप्लवप्रति आफ्नो र सरकारको कुनै पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । 'हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने छ,' प्रस्तावमार्फत ओलीले भनेका छन्, 'तर अब पनि समाजमा हिंसा, जुनसुकै आवरणमा किन नहोस्, किमार्थ स्वीकार्य छैन । त्यसलाई सफल हुन दिइने छैन । सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाईंको द्विविधा किन ?' 

ओलीले सिके राउतको प्रसंग निकाल्दै राउतले संविधान स्वीकारेर अगाडि आएको बताएका छन् । 'हिजो गरेको विखण्डनकारी गतिविधि अस्वीकार्य थियो । पछि उनले त्यस बाटोलाई छाडे र संविधान स्वीकारेर अगाडि आए,' उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय विखण्डनको प्रयास छाडेर उनी राजनीतिक मूलधारमा आउने कुरा देशको लागि सकारात्मक होइन ? भनी प्रश्न गरेका छन् । 

ओलीले प्रचण्डलाई यस्ता प्रश्नलाई विवादित बनाउने काम गरेको आरोपसमेत लगाए । 

'मुलुकमा आज पनि जातीय र क्षेत्रीय अतिवादी सोचहरू छन् । सामाजिक सद्भाव बिगार्न खोज्ने प्रवृत्तिहरू छन् । त्यस विरुद्ध तपाईंको स्पष्ट अडान किन देखिँदैन ? किन त्यस्ता प्रवृत्तिलाई बारम्बार प्रोत्साहन गर्ने काम हुन्छ ?' प्रस्तावमार्फत ओलीले सोधेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्