
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको संघर्ष थप उचाइमा पुगेको छ ।
शनिवार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई आफ्नो कमजोरी महसुस गर्नुको सट्टा थप दम्भ र अहंकारयुक्त भाषा प्रयोग गरेर प्रस्ताव ल्याएको भन्दै ओलीको आलोचना गरेका थिए ।
सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीमा विवाद समाधान गरेर अघि बढ्नु भन्दा पनि दम्भ र अहंकार देखाएर अघि बढ्न खोजेको भन्दै ओलीको प्रतिवाद गरेका हुन् ।
'तपाईंले आफ्नो कमजोरी रियलाइज गर्नुभएको छैन, बरू तपाईंमा थप अहमता बढ्दै गइरहेको छ,' प्रचण्डको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले लोकान्तरलाई भने, 'तपाईको प्रस्ताव डिटेलमा पढ्दै गरौँला, तर मेरो जानकारीमा आएअनुसार यहाँ तपाईले लेख्नुभएका कुराहरूले नै विवादको जड तपाईं हो भन्ने पुष्टि गरेको छ ।'
प्रचण्डले बोल्ने क्रममा गत साल माघमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकपछि ओलीले सिलसिलेवार ढंगले पार्टीको बदनाम गर्न शुरू गरेकोसमेत उल्लेख गरे ।
'केन्द्रीय कमिटीबाट यहाँसम्म आइपुग्दा तपाईंले केके गर्नुभयो ? त्यो याद होला,' प्रचण्डले बैठकमा भने, 'अध्यादेश, सांसद अपहरण, नेताहरूलाई आफ्नो खोपीमा बोलाएर पद बाँड्ने काम त तपाईंबाट भएकै हो । संसदमा तपाईले दिएका अभिव्यक्तिहरू कहिल्यै दोहोर्याएर सुन्नुभएको छ ?'
प्रचण्डले पार्टीमा देखिएको विवादको प्रमुख कारकतत्व ओली नै रहेको भन्दै बैठकमा आक्रोश पोखेका थिए ।
प्रचण्डले ओलीलाई बैठकमा ल्याउन आफूहरूले धेरै प्रयास गरेपछि सफल भएको बताए । 'तपाईंलाई बैठकमै ल्याउन ठूलो कसरत गर्नुपरेको थियो,' बैठकमा आफ्ना कुरा राख्दै प्रचण्डले भने, 'ठीक छ, तपाईं कमिटी बैठकमै आएर आफ्ना कुरा राख्नुभएको छ । यसलाई मैले सकारात्मक नै लिएको छु । छलफल गरेर अघि बढौं ।'
प्रचण्डपछि बोलेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीलाई दम्भ र अहंकार त्याग्न सुझाव दिएका थिए ।
आजको बैठकमा ओलीले आफ्ना तर्फबाट लेखिएको प्रस्ताव सचिवालय सदस्यहरूलाई दिएका थिए ।
अर्को सचिवालय बैठक यही १६ गते बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले सचिवालयमा पेश भएका सबै डकुमेन्टहरू १६ गते बस्ने बैठकमा छलफल हुने जानकारी दिए ।
मङ्सिर १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक बस्ने नेकपाको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।