
रूपन्देही प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको हस्पिटल लाइनबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिवार बिहान तीन बजे गोरु नियन्त्रणमा लिएको जनाएको छ । ५ वटा ट्रकमा १ सय २१ वटा गोरु राखिएका थिए ।
प्रहरीले बारा निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षका गणेश पौडेल, जीतपुर सिमरा नगरपालिका वडा नम्बर १६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा वडा नम्बर १४ बस्ने ३० वर्षका लक्ष्मण दनै र बारा निजगढ वडा– ९ बस्ने ३२ वर्षका नवराज कार्कीलाई पक्राउ गरेको छ ।
ना५ख ५६५५ नम्बरको ट्रकमा २२ वटा, ना८ख ७३०२ नम्बरको ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नम्बरको ट्रकमा २५ वटा, ना६ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना५ख ७५३९ नम्बरको ट्रकमा २६ वटा गोरु रहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ ।