०८ साउन २०८३, शुक्रबार

तल्लो, मध्यम र उच्च ब्यान्डमा फाइभजीका लागि फ्रिक्वेन्सी

मंसिर २१, २०७७
तल्लो, मध्यम र उच्च ब्यान्डमा फाइभजीका लागि फ्रिक्वेन्सी

फाइभजी सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फ्रिक्वेन्सी पहिचान गरेको छ । फोरम बैठकले शुक्रबार तल्लो, मध्यम र उच्च फ्रिक्वेन्सी ब्यान्डमा प्रविधि तटस्थता अपनाई फाइभजीका लागि फ्रिक्वेन्सी दिन सकिने भनेको छ ।

फोरमले ७ सय, ९ सय र २३ सय र २६ सय मेगाहर्ज ब्यान्डलाई तल्लो ब्यान्डअन्तर्गत राखेको छ । ३३ सय, ३४ सय र ३६ सय र ४७ सय मेगाहर्जलाई मध्यम अनि २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्यान्डको सूचीमा राख्दै यी सबैमा फाइभजी सेवा सञ्चालन गर्न सकिने गरी फ्रिक्वेन्सी पहिचान गरेको हो ।

फोरमले सेवा प्रदायकलाई फ्रिक्वेन्सी दिँदा न्यून ब्यान्डका फ्रिक्वेन्सी २० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डका फ्रिक्वेन्सी १ सय मेगाहर्ज र उच्च ब्यान्डका फ्रिक्वेन्सी १ हजार मेगाहर्जसम्म दिन सक्ने सुझाव पनि दिएको छ । फोरमले पहिचान गरेका फ्रिक्वेन्सी र सुझाव दूरसञ्चार प्राधिकरणलाई बुझाउनेछ भने प्राधिकरणले त्यसलाई संशोधनसहित मन्त्रालयमा सिफारिस गर्नेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयपछि मात्रै यो फ्रिक्वेन्सी सेवा प्रदायकले पाउने वा नपाउने निर्धारण हुनेछ । फोरमले फाइभजी प्रविधिका लागि फ्रिक्वेन्सी पहिचान गरेको भए पनि फ्रिक्वेन्सीको मूल्य र मोडालिटीबारे कुनै निर्णय नगरेको फोरमका एक सदस्यले जानकारी दिए । ब्रोडब्यान्ड मोबाइल नेटवर्क प्रविधिको पाँचौं पुस्ता केही देशमा परीक्षणका रूपमा सुरु भइसके पनि नेपालमा यसका लागि हालसम्म फ्रिक्वेन्सी निर्धारण भएको छैन ।

प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईं संयोजकत्वको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित सेवा प्रदायकका प्रतिनिधि सदस्य छन् । फोरममा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि पनि समावेश छन् ।

चीनसहित अमेरिका र दक्षिण कोरियाका दूरसञ्चार सेवा प्रदायकले सीमित ग्राहकका लागि फाइभजी सेवा सुरु गरिसकेका छन् । नेपालमा पनि नेपाल टेलिकमले फोरजी सेवा विस्तारको काम सकिएपछि परीक्षणका रूपमा फाइभजी सेवा सुरु गर्ने योजना लिएको छ । हाल टेलिकमले देशैभर फोरजी विस्तारको काम गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्