
परराष्ट्र मन्त्रालयले आइतवार जारी गरेको देशको नयाँ परराष्ट्रनीतिमा कालापानी सहितको नक्सा जारी गर्नु पनि मुख्य उपलब्धि हो भनी उल्लेख गरेको विषयलाई भारतले गम्भीर रूपमा लिएको देखिएको छ ।
भारतको प्रभावशाली राष्ट्रिय दैनिक द टाइम्स अफ इन्डियाको अन्लाइन संस्करणमा प्रकाशित एक समाचारमा लेखिएअनुसार, भारतसँग नयाँ सम्बन्ध बनेको भए पनि कालापानी विवादबाट नेपाल पछि नहट्ने संकेत पाइएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डिसेम्बर महिनामै भारत भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा नयाँ परराष्ट्र नीति सार्वजनिक भएको हो ।
पत्रिकामा लेखिएअनुसार, नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा दाबी गर्दै भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले नयाँ प्रशासनिक र राजनीतिक नक्सा जारी गरेको भनी परराष्ट्र मन्त्रालयले निर्णयको बचाउ गरेको छ ।
परराष्ट्मन्त्री ज्ञवाली पुसमा नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका छन् । उक्त बैठकमा उनी भारतका विदेशमन्त्री एस जयशंकरसँगको सहअध्यक्षता गर्नेछन् । भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले जयशंकरको निमन्त्रणा परराष्ट्रमन्त्री ज्ञवालीलाई दिएका थिए ।
शृंगलाको भ्रमणमा दुई देशले एकअर्काको संवेदनशीलतालाई सम्मान गर्ने र द्विपक्षीय सम्बन्धमा रहेका सकारात्मक पाटोमा जोड दिने भनिए पनि नेपालले कालापानी र सुस्ताको सीमा विवाद हल गर्न भारतलाई जोड गरिरहेको द टाइमस अफ इन्डियाले लेखेको छ ।
हिजो सार्वजनिक गरिएको नीतिमा पनि त्यसलाई उल्लेख गरिएको छ ।