
देवदह नगरपालिकाको केरवानीमा विष्णु श्रेष्ठको ३ बिघा खेत छ । जसमा उनी पाँच वर्षअघिसम्म धान रोप्थे । हिउँदमा गहुँ र तोरी छर्थे । अहिले खेतभरि वन पैदावार छन् । खेतमा रोपेका बबुल, टिक, सिसौ, मसलालगायत बोटबिरुवा रूखमा परिणत भएका छन् ।
यसै वर्षदेखि आम्दानी सुरु हुने र १० वर्षभित्र सबै रूख काठका रूपमा बेच्न सकिने उनले सुनाए । ‘केही वर्ष पर्खन सक्यो भने रूखबाट अरू बालीबाट भन्दा धेरै आम्दानी हुँदो रहेछ,’ उनले भने, ‘त्यसैले धान मासेर खेतभरि रूख लगाएको हुँ ।’ वनका लागि गुमानसिंह कुँवर, लीला पौडेल र महेन्द्र मुनाल कर्मीले उनीसँग सहकार्य गरेका छन् । कुनै जमाना थियो, आफ्नो खेतबारीका रूख काट्दा पनि मुद्दामामिला झेल्नुपर्थ्यो । अहिले त्यस्तो छैन । किसानले आफ्नो खेतबारीमा लगाएका २३ प्रजातिका रूख आफूअनुकूल काट्न पाउँछन् । जसले गर्दा अन्नबाली हुने खेतबारीसमेत मासेर रूख लगाउन र किसानहरूले अरू बालीसरह नियमित आम्दानी लिन थालेका छन् ।
त्यसैमध्येका हुन्, बलराम भट्टराई । उनको बर्दिया बढैयाताल गाउँपालिका–७ मा १ बिघा ५ कट्ठा खेत छ । जसमा अन्नबाली होइन, घना जंगल छ । उनी बेफुर्सदिलो भएर खेत बाँझिएको वा वन बनेको होइन । अन्नबालीको साटो रूखबिरुवा रोपेका उनले यसबाटै वार्षिक आम्दानी पनि लिइरहेका छन् ।
‘एक बिघा जग्गामा अँधियामा अन्नबाली लगाउँदा वार्षिक करिब २० हजार मात्रै आम्दानी हुँदो रहेछ । यस हिसाबले १० वर्षमा जम्मा २ लाख रुपैयाँ कमाइ हुन्छ,’ बलरामले भने, ‘मैले वनबाट १० वर्षमा १ करोड रुपैयाँ कमाउने लक्ष्य लिएको छु ।’ ठूला रूख नभएका ठाउँमा बाँस बेचेर मात्रै पनि २० लाख रुपैयाँसम्म कमाउन सकिने उनले बताए । ‘खेतभरि वन छ, मनभरि खुसी,’ बलरामले सुनाए, ‘आफ्नो खेतबारीमा आफैंले अन्न उब्जाउन नसक्नेका लागि रूख रोप्दा धेरै फाइदा छ ।’
अन्नबालीबाट जस्तै वन पैदावारबाट फाइदा लिन सकिने भएपछि अहिले तराईका धेरै किसानले धानखेतीलाई वनमा परिणत गरेका छन् । पहाडका बारीमा समेत बिरुवा हुर्कंदै छन् । बिरुवा रोपेको चार वर्षपछि हाँगालाई दाउराका रूपमा बेच्न सकिन्छ । १० देखि १५ वर्षमा रूख बिक्री गर्दा एक बिघा जग्गामा रोपेको वनले एक करोड रुपैयाँभन्दा बढी आम्दानी दिन्छ । जुन आम्दानी अन्यबालीको भन्दा धेरै हुने स्वयं किसानहरू नै बताउँछन् । ‘केही वर्षमात्रै कुर्नुपर्छ, त्यसपछिको आम्दानी अन्नको भन्दा तेब्बर बढी छ,’ दाङका वन किसान मेघराज भुसालले भने ।
व्यक्तिको निजी स्वामित्वमा रहेको जग्गामा भएको वन पारिवारिक निजी वन हो । नेपालमा २०६० देखि पारिवारिक, निजी जग्गामा रूख लगाउने अभियान सुरु भएको हो । लुम्बिनी प्रदेशमा ९ सय ४ सहित देशभरमा ३ हजार ७ सय ५३ निजी वन छन् । त्यसले १० लाख हेक्टर क्षेत्रफल ओगटेको वन मन्त्रालयको तथ्यांक छ । निजी जग्गामा लगाएको भए पनि साल, साज, ओखर, पाँचऔंले र जटामासीलगायत केही प्रजातिका रूख व्यक्तिगत रूपमा कटान गर्न प्रतिबन्ध छ । आँप, लहरेपीपल, नीम, सिसौ, टिक, कदम, मसला, टुनी, बबुल, काभ्रोलगायत २३ प्रजातिका रुख भने स्थानीय तहलाई जानकारी गराएर अन्नबालीसरह काट्न पाइन्छ । आफ्नो स्थानीय तहभित्र तिनका काठदाउरा ओसारपसार गर्दा छोडपुर्जी लिनुपर्दैन ।
वन ऐन २०७७ ले यसअघि डिभिजन वन कार्यालयमा दर्ता हुने निजी वनलाई स्थानीय तहलाई दर्ता गर्ने अधिकार दिएको छ । वन कार्यालयको इकाई स्थानीय तहमा बस्ने र त्यसले नै रूख काट्ने र बिक्रीवितरणको स्वीकृति दिने प्रावधान छ । यसले किसानलाई कृषि वनप्रति आकर्षित गरेको पारिवारिक निजी वन संघका अध्यक्ष जोगलाल गिरीले बताए । ‘खेतबारीमा रूख रोप्ने धेरै किसानले रूखसँगै घुसुवा र नगदेबाली पनि लगाएर आम्दानी लिएका छन् । जडीबुटी लगाएर सुरुको वर्षदेखि आम्दानी गर्ने पनि थुप्रै किसान छन्,’ उनले भने, ‘स्थानीय तहको स्वीकृतिमा रूख काट्न पाइने भएपछि थप किसान निजी वनमा आकर्षित भएका छन् ।’ कान्तिपुर दैनिकमा अमृता अनमोलले खबर लेखेकी छन् ।