बेलायतले कोभिड–१९ विरुद्धको फाइजर खोप सर्वसाधारणलाई दिन थालेको छ ।
परीक्षणमा भाग लिएकाबाहेक कोभिडको खोप लिने संसारकै पहिलो व्यक्ति मार्गरेट कीनान नामक वृद्धा बनेकी छन् ।
उनले बेलायतको स्थानीय समयअनुसार मंगलवार बिहान साढे ६ बजे कोभेन्ट्रीस्थित स्थानीय अस्पतालमा खोप लगाएकी हुन् ।
‘कोभिडविरुद्ध खोप लगाउने संसारको पहिलो सर्वसाधारण हुन पाउनु मेरो सौभाग्यको कुरा हो,’ कीनानले भनिन् ।
केही दिनमा नै उनी ९१ वर्ष लाग्दैछिन् । यो आफ्नो लागि जन्मदिनको उपहार भएको उनको भनाइ छ ।
फाइजर र बायोएनटेकले बनाएको खोप मंगलवारदेखि बेलायतले सर्वसाधारणलाई दिन थालेको हो । यसो गर्ने ऊ पहिलो पश्चिमी मुलुक हो । यसलाई कोरोनाभाइरसविरुद्धको विजयको निर्णायक क्षण मानिएको छ ।
बेलायतमा यसलाई भी डे अर्थात् खोप दिवस वा विजय दिवस भनिएको छ ।