काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरू हुन सकेको छैन ।
१ दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडक समेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो ।
सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र बीपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ ।
आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उनले भने, ‘विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौं ।’
झण्डै १ दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो । जाइकाले यो सडकमा पूर्व अध्ययन समेत गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन ।
गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो ।
बाग्मती प्रदेश र प्रदेश नम्बर २ का जिल्लाबाट समेत काठमाडौं भित्रिने नाकाका रूपमा यो सडक रहेको छ । अरनिको, बीपी राजमार्गसँगै मध्यपहाडी लगायतका राजमार्ग समेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारीसाधनले उपत्यका भित्रिन घण्टौं जाममा बस्नुपर्ने अवस्था छ ।