अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कार्यकाल सम्हालेको १०० दिनभित्र कोरोनाभाइरस महामारीविरुद्ध लड्ने योजना सार्वजनिक गरेका छन् । आफ्नो प्रशासनले १० करोड अमेरिकीलाई खोप लगाउने, विद्यालय खोल्नका लागि जोड दिने र मास्क अनिवार्य गराउन लगाउने उनले बताएका छन् ।
मंगलवार बाइडनले आफ्नो सार्वजनिक स्वास्थ्य टोली घोषणा गरेका थिए । त्यही अवसरमा उनले काला जातिका जनरल लोयड अस्टिनलाई रक्षामन्त्री बनाउने घोषणा पनि गरेका छन् ।
उनले भने, ‘हामीले १०० दिनमा रोगको दिशामा परिवर्तन गर्दै अमेरिकामा जीवन सहज बनाउन सक्छौं । तपाईंको राजनीति वा विचारधारा जस्तो भए पनि १०० दिन चाहिँ मास्क लगाइदिनुस् ।’
बाइडनको कार्यकालको पहिलो केही महिना महामारीले नै ओगट्ने देखिन्छ । महामारीका कारण अस्पताल भरिभराउ छन् र यसको लहर पुनः शुरू भएको छ ।
कोरोनाभाइरसले २ लाख ८३ हजार अमेरिकीहरूको ज्यान लिएको छ र लाखौंको रोजगारी गुमेको छ ।
प्रभावकारी खोपहरूले बाइडन प्रशासनलाई अमेरिकाको अर्थतन्त्र सम्हाल्नका लागि ध्यान केन्द्रित गर्नेछ ।
अमेरिकाको खाद्य तथा औषधि नियमन संस्थाले फाइजरको खोपका सुरक्षा र प्रभावकारितामा आपत्ति नउठाएकाले यसै महिनादेखि अमेरिकीहरूलाई खोप लगाउने सम्भावना छ ।