२३ असार २०८३, मंगलबार

संशोधन विधेयक थाती राखेर भएपनि स्थानीय चुनाव : कांग्रेस

कात्तिक २०, २०७४
संशोधन विधेयक थाती राखेर भएपनि स्थानीय चुनाव : कांग्रेस
काठमाडौैं, १० पुस – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले संविधान संशोधनलाई थाती राखेर भएपनि तत्काल स्थानीय चुनावको मिति घोषणा गर्नुपर्ने बताएको छ । संविधान संशोधनको बहानामा चैत्र–वैशाखमा स्थानीय निर्वाचन टार्ने कुरा अमान्य हुने कांग्रेसको निष्कर्ष छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतवार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । ‘कुनै पनि हालतमा निर्वाचन हुनुपर्छ र संविधान लागू गर्नुपर्छ भन्ने सबै नेताको जोड रह्यो,’ बैठकमा सहभागी कांग्रेस नेता चन्द्र भण्डारीले लोकान्तरसँग भने ।

बैठकमा संविधान संशोधनको किचलोलाई तत्काल स्थगन गरेर भएपनि स्थानीय निर्वाचनमा जानुपर्ने आवाज उठेको थियो । पुरानै व्यवस्था अनुसारको स्थानीय निकाय वा नयाँ संविधानको व्यवस्था अनुसारको स्थानीय तहको भएपनि निर्वाचन मिति घोषणा गर्नुपर्ने छलफल भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकपछि पत्रकारहरूलाई बताए ।

बैठकमा बोल्ने नेताहरूले एमालेसँग धु्रवीकरण बढाएर संविधान कार्यान्वयन गर्न कठिन हुने भन्दै एमालेलाई समेत मान्य हुने विकल्पमा सहमति गर्नुपर्ने बताएका थिए । स्रोतका अनुसार कांग्रेस संविधान संशोधन विधेयक तत्कालका लागि स्थगित गरेर निर्वाचनमा केन्द्रित हुने सम्भावना बढेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि लगायत नेताहरूको सहभागिता थियो । सोमवार दिउँसो बस्ने तीन दलका शीर्ष नेताको बैठकअगावै स्थानीय निर्वाचनवारे निष्कर्षमा पुगिने कांग्रेस नेताहरूले बताए ।

‘पाँच नम्बर प्रदेशका जनताको भावनाको कांग्रेसले सम्मान गर्छ,’ भण्डारीले भने । विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न कांग्रेस पदाधिकारीको बैठक सोमवार बिहान पुनः बस्ने पौडेलले बताए ।

संविधान संशोधनको विषयलाई लिएर दलहरूबीच तिक्तता बढिरहेको समयमा कांग्रेसले संविधान संशोधनको विषयमा लचिलो हुने संकेत गरेको हो ।

तस्वीरः यूपी लामिछाने

salt training

कमेन्ट गर्नुहोस्