भारतको झारखण्डमा रहेको चाकुलियामा मानिसहरू जंगलको रुखमा भेटिने रातो कमिलाको अचार खाने गर्छन् ।
आदिवासी समुदायका ती मानिसले जाडो मौसममा कमिलाको अचार खाँदा चिसो नलाग्ने र भोक पनि मज्जाले लाग्ने बताउने गरेका छन् । कमिलाबाट भएको टेटरिक एसिडले शरीरलाई लाभ गर्ने वैज्ञानिक मान्यता पनि छ ।
चाकुलियाको मटकुरवा गाउँमा अधिकांश आदिवासीहरू नै बस्छन् । घना जंगलको बीचमा रहेको गाउँमा सुविधाका साधनहरू छैनन् ।
आदिवासीहरूका अनुसार, जाडो लाग्नेबित्तिकै सालको रुखमा रातो कमिलाले घर बनाउने गर्छन् । उनीहरूले रुखको निकै अग्लो भागमा घर बनाउने गरेका छन् र घरलाई पातले छोप्ने गरेका छन् ।
आदिवासीहरूले रुखमा चढेर कमिलाको घरसहितको हाँगो भाँचेर ल्याउँछन् । त्यसपछि कमिलालाई हाँडीमा राख्छन् । सबै कमिला एक ठाउँमा राखेपछि सिलौटामा हालेर महिलाहरूले पिँध्छन् । त्यसमा नून, खुर्सानी, अदुवा, लसुन राखेर मज्जाले पिँध्छन् ।
आधा घन्टा पिँधेपछि सबै राता कमिला अचार बन्छन् । अनि सबैले सालको पात ल्याएर अचार राख्छन् र बाँडेर खान्छन् ।