
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी विवाद टुंग्याउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेका बताएका छन् ।
नेम्वाङले आइतवार बिहान प्रचण्डसँग खुमलटारमा झण्डै १ घण्टा लामो भेटवार्ता गरेका थिए ।
‘कमरेड प्रचण्डले बोलाएपछि म बिहान खुमलटार गएको थिएँ, लगभग १ घण्टा छलफल भयो,’ नेम्वाङले लोकान्तरसँग भने, ‘विवाद मिलाउन म सकारात्मक छु, टुंगोमा पुर्याउन सकारात्मक भूमिका खेल्छु भन्नुभयो ।’
प्रचण्डलाई भेटेर फर्किएका नेम्वाङ नेकपा विवाद सहमतिमा टुंगिनेमा आशावादी देखिए । नेम्वाङले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पनि लगातार भेटवार्ता गरिरहेका छन् ।
‘प्रधानमन्त्रीज्यूसँग म नियमित सम्पर्कमै छु, उहाँ पनि पार्टी विवाद मिलाउन सकारात्मक हुनुहुन्छ,’ प्रचण्डसँग भनेको कुरा सुनाउँदै नेम्वाङले भने, ‘प्रधानमन्त्री पनि सकारात्मक तपाईं पनि सकारात्मक, त्यसो भए मिल्नुस् न कमरेड !’
नेकपा स्थायी कमिटी बैठकअघि नेम्वाङले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । नेकपा स्थायी कमिटी बैठक आइतवार दिउँसो बस्दैछ । गत मंसिर २१ गते आइतवार शुरू भएको बैठक १ हप्तापछि आइतवार बस्न लागेको हो ।
यसअघिको बैठकमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने भन्दै लिखित पत्र पठाएर बैठकका उपस्थित नहुने जानकारी गराएका थिए ।
आइतवारको बैठकमा ओली उपस्थित हुने सम्भावना रहेको नेकपा स्रोतले बतायो । यसअघि धुम्बाराहीमा बसेको बैठक आइतवार बालुवाटारमा सारिएको छ ।