
संवैधानिक परिषद् बैठकमा कोरम पुर्याउन कठिन भएपछि सरकारले कोरम पुर्याउन सहज हुनेगरी अध्यादेश ल्याएको छ । सरकारले सिफारिश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेकी छिन् ।
रिक्त संवैधानिक पदमा नियुक्तिका लागि बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको थियो ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलवारको बैठकमा कोरम पुगेको थिएन । बिहान बस्न नसकेको बैठक साँझ ५ बजेका लागि पुनः बोलाइएको छ ।
परिषद्मा कोरम पुर्याउन सजिलो हुने गरी अध्यादेश जारी भएपछि मंगलवारको बैठकले केही नियुक्ति गर्ने सम्भावना बढेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।
परिषद्मा उपसभामुख पनि सदस्य रहने व्यवस्था भएपनि अहिले सो पद खाली छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कहिले पारित भएको भन्नेबारे स्वयं मन्त्रीहरू नै अनविज्ञ छन् ।
मंगलवारको बैठकमा अध्यादेशबारे छलफल नभएको एक मन्त्रीले जानकारी दिए ।