
अर्थमन्त्री विष्णु पौडेलले विकास आयोजनाका लागि बजेटको चिन्ता नर्गन आग्रह गरेका छन् ।
सैनामैना नगरपालिकाको वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करीब २० किलोमिटर उत्तर र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको मंगलवार स्थलगत निरीक्षण गर्दै पौडेलले सैनामैना चक्रपथको आयोजना निर्माणका लागि सरकारले बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्दै चिन्ता नगर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘संघीय सरकार र प्रदेश सरकारबीच छलफल गरी बजेटको प्रबन्ध मिलाउँछौ, बजेटको पाटोमा तपाईंहरू चिन्ता कम गर्नुस्, खासगरी कार्यान्वयनको पाटोमा ध्यान दिनुस् । तोकिएको समयमा आयोजना सम्पन्न गर्ने किसिमले काम गर्नुस् ।’
सैनामैना चक्रपथ नगरको शहरीकरणका लागि र आम नागरिकहरूलाई यातायात सुविधा पुर्याउनका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण विकासको आयोजनाको रूपमा रहेको पौडेलले बताए ।
मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयको भूमिका र जागरुकता आवश्यक रहेको उल्लेख गरे ।
कुल रु. ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिकाको वडा नं ११ मा पर्ने क्षेत्रको चक्रपथ सडकको दुई किलोमिटर खण्ड कालोपत्रे भएको छ ।
सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिव १३० कल्भर्ट र ८ पुल निर्माण हुनेछन्, जसमा सुखौरा पुल, तुल्बुलिया पुल, कञ्चन खोला पुल र पहिला खोल पुल, प्रदेश सरकारबाट बजेट विनियोजन गरेर ४४ करोड ५० लाखको ठेक्का प्रक्रिया भएर सम्झौताको क्रममा रहेका छन् । त्यस्तै इंगुरिया खोला, घमाह खोला र सुकौली खोला अध्ययनको शिलशिलामा छन् । बन्द्रा खोला क र ख का सम्बन्धमा थप अध्ययन गरिँदै छ ।
सो सडक करीब ५४ किलोमिटर लामो छ । वि.सं. २०७४ जेठ १७ गते ठेक्का सम्झौता भएको उक्त आयोजना वि.सं. २०७८ मंसिर ७ गतेसम्म पूरा हुने लक्ष्य लिइएको छ ।