२९ जेठ २०८३, शुक्रबार

आन्दोलनरत उखु किसानहरूले अस्वीकार गरे सरकारसँगको वार्ता

मंसिर ३०, २०७७
आन्दोलनरत उखु किसानहरूले अस्वीकार गरे सरकारसँगको वार्ता

आन्दोलनरत उखु किसानहरू वार्तामा नगएपछि उद्योग मन्त्रालयले मंगलवार पनि वार्ता स्थगित गरेको छ । 

उखु किसानहरूले वार्तामा सहभागी नभएपछि वार्ता स्थगित गरिएको मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीले लोकान्तरलाई जानकारी दिइन् ।

‘मंगलवार बस्ने भनिएको वार्ताका लागि हामी तयारी अवस्थामा थियौं, तर किसानहरू आउनुभएन,’ सह–प्रवक्ता केसीले भनिन् ।

उनका अनुसार, मंगलवारका लागि बस्ने तय भएको वार्तामा उद्योग मन्त्री लेखराज भट्ट आफैं आउने तयारी थियो । तर उखु किसानहरूले वार्ता अस्विकार गरेपछि वार्ता बस्न नसकेको हो । 

उनले वार्ताका लागि मन्त्रालय सधैं तयार भएको बताउँदै अब किसानहरूले वार्ताका लागि तयार हुनुपर्ने बताइन् । 

यता आन्दोलनरत किसानहरूको संघर्ष समितिका संरक्षक राकेश मिश्र आफूहरूको एउटै माग रकम भएकाले रकम बैंक खातामा रकम नपठाएसम्म वार्तामा नबस्ने लोकान्तरलाई बताए । 

‘हामीलाई वार्ताका लागि फोन आएको थियो, तर वार्ताको औचित्य रहेन, त्यसकारण हामी गएनौं,’ उनले भने । 

मिल मालिकले पैसा बैंकमा पठाइदिएको अवस्थामा मात्रै वार्ता सम्भव हुने भन्दै उनले नत्र सडक आन्दोलन गरिरहने बताए । 

यता, गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चारवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ ।

भुक्तानी नगर्ने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको बैठकले किसानलाई समयमै भुक्तानी नदिने व्यापारीलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 

समयमै भुक्तानी दिन नमानेको खण्डमा पक्राउसमेत गर्नसक्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बढाले जानकारी दिए । 

गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी थिए ।

यसैबीच आन्दोलनरत किसानले रकम भुक्तानीको मिति तोक्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने सर्त राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्